धरान । नारी स्वतन्त्र मञ्च नेपालले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने टेम्पो चालक तालिम प्रदान गरेको छ ।

फागुन ५ गतेदेखि शुरु भएको तालिममा धरान–१५ का ७ जना महिलाहरूलाई तालिम प्रदान गरिएको छ । धरान उपमहानगर १५ नम्बर वडाको लक्षित वर्गको कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको मञ्चकी अध्यक्ष बिना पुमा राईले जानकारी दिइन् ।

उनका अनुसार न्यू चुम्लुङ ड्राइभिङ सेन्टरका प्रशिक्षक विकास राईले चालकसम्बन्धी तालिमको प्रशिक्षण गराएका थिए । बिहीबार समापनको अवसरमा १५ नम्बर वडाका अध्यक्ष नरेश इवारमले महिलालाई चालक तालिमले उनीहरूको जीवन सक्षम बन्न सहयोग पुग्ने बताए । उनले बजेट सही सदुपयोग हुन सकेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा १५ नम्बर वडा सदस्यहरू रामकाजी राइ, ज्ञानेन्द्र बस्नेत, जानुका कार्की, नीरमाया बिक, महिला सञ्जाल नगर अध्यक्ष सविता राई, मञ्चका सल्लाहकार गजेन्द्र इस्बो, ऐसा सुनुवारलगायतको उपस्थिति रहेको थियो । १५ नम्बर वडा समितिको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो ।