काँकडभिट्टा/ मानव मलमूत्रलाई व्यवस्थापन गर्न झापाको मेचीनगर–७ गैरीगाउँमा फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण हुँदै छ । 
 
करिब २ बिघा क्षेत्रफलमा एशियाली विकास बैङ्क (एडिबी) को ८५ प्रतिशत लगानीमा मानव मलमूत्रको प्रशोधन केन्द्र निर्माण भइरहेको हो । यसको कुल लागत ६ करोड ४२ लाख रुपैयाँ रहेको छ । मेचीनगर नगरपालिकाले १५ प्रतिशत लगानी गर्दैछ ।
 
प्रशोधन केन्द्र निर्माणका लागि रमन कन्स्ट्रक्सन धनुषाले ठेक्का पनि प्राप्त गरिसकेको छ । कन्स्ट्रक्सनका प्राविधिक अनुप सुवाल श्रेष्ठका अनुसार २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रशोधन केन्द्र २०७६ सालको जेठ महिनादेखि सञ्चालनमा आउने दाबी गरिन्छ ।
 
प्रशोधन केन्द्र निर्माण समितिका संयोजक काँकडभिट्टा खानेपानीका अध्यक्ष हर्क फियाकले मेचीनगर नगरपालिकाको घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरिने बताए ।
 
झापा जिल्ला खुला दिसामुक्त क्षेत्रको रूपमा घोषित भइसकेको छ । यसले रोजगारीसमेत सिर्जना गर्ने विश्वास निर्माण समितिको छ ।