राजविराज/ डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्तालाई सप्तरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

राजबिराज नगरपालिका ११ फर्सेटका २३ वर्षिय श्याम कुमार यादव, १९ वर्षिय सरोज कुमार यादव, सप्तकोशी नगरपालिका १० का १९ वर्षिय अबिनाश पण्डित र तिलाठी कोईलाडी गाउँपालिका २ का २८ वर्षिय शुशिल मण्डललाई बालबालिका ऐन २०७५ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा मुद्दा चलाउन लागिएको हो ।

बलिदान दिवस मनाउने क्रममा शनिबार चारै जनालाई राजविराज ११ स्थित झलही पुल आसपासबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ‘फ्रि मधेश’ लेखिएको ब्यानर बरामद भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

उनीहरुले विद्यालय जाने उमेरका बालबालिकालाई प्रलोभनमा पारेर कार्यक्रममा सहभागि गराएको पाईएपछि पक्राउ गरिएको उनले बताए । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।