भद्रपुर /  सडक विस्तारको क्रममा ठेकदारले सडकमा पानी नहालेका कारण धुलोले सडक किनारका बासिन्दा पीडामा परेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका छन् । झापाको मेची राजमार्गस्थित चारआली–चन्द्रगढीका स्थानीयले सडकमा मुढा तथा ढुङ्गा थुपारेर सडक अबरुद्ध पारेका हुन् ।
स्थानीयले चन्द्रगढी, धनुषमोड, चारलाली दक्षिण चोक र विरान गाउँलगायत ठाउँ–ठाउँमा सडक अबरुद्ध पारेर आवतजावत बन्द गराएका थिए । बन्दका कारण दिनभर सवारी साधन रोकिएका थिए । सडकले पानी नहालेर धुलोका कारण रोग लागेको भन्दै पानी नहालेसम्म सडक बन्द नै राखिने मेचीनगर–१३ का केशव भट्टराइले बताए । शनिबारबाट शुरु गरिएको सडक बन्दको समस्या समाधान नभएसम्म नखुलाइने उनले जनाए । सडक प्रयोग गरेर सडक आसपासका स्थानीयलाइ उठिवास लगाएको स्थानीय चुना भण्डारीले आरोप लगाइन । सडक बन्दका कारण सवारी आवत जावतमा कठिनाइ आएपछि अपरान्ह् जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेक्टर कुलप्रसाद चौधरी, इलाका प्रहरी कार्यालय धुलाबारीका इन्सपेक्टर टिकाबहादुर कार्कीसहितको प्रहरी टोलीले स्थानीयसँग लामो छलफल पछि ट्याङ्करले पानी हाल्ने सहमति भएपछि सडक सुचारु भएको थियो ।
यता सोही सडकको धनुषमोड उत्तर र चन्द्रगढी दक्षिणमा सडक विस्तार भइरहेपनि चन्द्रगढी बजार देखि धनुषमोड सम्मको सडक विस्तारको काम सुचारु नभएको भन्दै स्थानीयले दिनभर सडक अबरुद्ध पारेका थिए । सडक विस्तारको काम अघि नवढेसम्म सडक वन्द जारी राखिने स्थानीय मुरारी खरेलले बताए । के कारणले सडक विस्तार हुन सकेन ? त्यो सार्वजानिक नभएसम्म कुनै हालतमा पनि अवरोध नहटाइने उनले बताए । सडक विस्तार गर्दा घर जान्छ भन्दा मुआब्जा माग्ने अनि विस्तार नभएको भन्दै सडक अबरुद्ध पार्नु हास्यास्पद् भएको भद्रपुर वडा नम्बर–१० का अध्यक्ष टेकबहादुर खड्काले बताए । सडकबिचबाट बरावरी खन्न मञ्जुरी भएमा तत्काल स्कोभेटर प्रयोग गरिने उनले जनाए । ठाउँ–ठाउँमा सडक अबरोधका कारण दिनभर १३ किलोमिटर सडक खण्ड सञ्चालनमा आउन सकेको थिएन ।