विराटनगर/ नक्कली विद्युत परियोजना र बिजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउने मोरङको लेटाङ–३ घर भई विराटनगर बस्दै आएका ५१ वर्षीय गुणराज ओझाले ४२ लाख २४ हजार २ सय ८० रुपैयाँ ठगी गरेको खुलेको छ ।
ओझाले २४ जनाबाट सो रकम ठगी गरेको जिल्ला अदालत मोरङमा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् दायर गरेको अभियोग–पत्रमा उल्लेख छ ।
ओझाले नक्कली कम्पनीमा कार्यरत कर्मचारीदेखि घरबेटी, फनिर्चर व्यापारीसम्मलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । ओझाले सबैभन्दा बढी विराटनगरस्थित एकनाथ ढकालले सञ्चालन गरेको सुनकोशी फर्चिनरको पैसा ठगी गरेको देखिएको छ ।
विराटनगरस्थित जलविद्युत आयोजना प्रालि खोल्ने र सो कम्पनीका लागि फर्निचरका आवश्यक सामाग्री चाहियो भन्दै ५ लाख ८५ हजार ६ सय ५६ रुपैयाँ बराबरको सामान लगेर सम्पर्कविहीन भएको अभियोग–पत्रमा उल्लेख छ ।
त्यस्तै राजेन्द्रप्रसाद अधिकारीको ४ लाख, मालता काफ्ले अधिकारीको ३ लाख ५१ हजार २० रुपैयाँ, इन्दिरा काफ्ले ढकालको २ लाख ३९ हजार, नितेश खतिवडा १ लाख ९८ हजार ७ सय ५० रुपैयाँ ओझाले ठगी गरेको देखिएको छ ।
यसैगरी गोविन्द भगतको २ लाख १ हजार, सुमनकुमारी मण्डलको १ लाख १९ हजार ७ सय ५०, इन्द्रप्रसाद सुवेदीको १ लाख ३४ हजार, दुर्गाबहादुर श्रेष्ठको १ लाख २० हजार रुपैयाँ ठगी गरेका छन् ।
ओझाले यतिका ठूलो परिमाणको रकम ठगी गरे पनि उनले केमा खर्च गरे त्यो भने खुलाइएको छैन । विराटनगर–४ कञ्चनबारी पश्चिम साझा मार्गमा तीन वटा घर भाडामा लिएर ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बीएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए ।
ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका थिए । महिनौँसम्म तलब नदिई सापटी लिएको रकमसमेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो । उनले कम्पनी रजिष्टरको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ ।
४२ लाख भन्दा बढी ठगी गर्ने ओझा शुक्रबार पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजकुमार खतिवडाको आदेशले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।