विराटनगर/ विराटनगरमा नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउने गुणराज ओझा पूर्पक्ष लागि थुनामा गएका छन् ।  जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको १ नम्बर इजलासमा शुक्रबार भएको थुनछेक बहसपछि ओझालाई थुनामा राख्न आदेश दिएको हो ।

मोरङको लेटाङ नगरपालिका–३ घर भई हाल विराटनगर–५ जामुनगाछीमा बस्दै आएका थिए । अदालतको आदेशपछि पूर्पक्षको लागि थुनामा गएको जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरुमार ओझाले जानकारी दिए । मोरङ प्रहरीले ओझालाई मङ्सिर ११ गते राति पक्राउ गरेको थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् बुधबार ठगी अन्तर्गत मुद्दा अदालतमा दर्ता गरेको थियो ।  बिहीबार बहसपछि शुक्रबार थुनछेक बहस भएको हो ।

बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालयबाट जिल्ला साहयक न्यायाधीवक्ता उमेश अधिकारी, अधिवक्ता विनायराज पाण्डे, पिकम राई, कविता बस्नेत र ज्ञानेन्द्र थापाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता पुरुषोतम नेपाल र उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए ।

नक्कली विद्युत्त परियोजना र विजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउँदै आएका ओझाले एक जनाबाट ५ हजारदेखी ४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।