राजविराज/दलालको विश्वासमा पर्दा मोरङ र सुनसरीका १२ युवा ठगिएका छन् ।

सप्तरी तिलाठी–कोइलाडी गाउँपालिका–४ का अशोक मण्डलले विदेश पठाई दिने प्रलोभन देखाउँदै जनही १ लाख ५० हजारले ठगी गरेको पीडितको आरोप छ । उक्त दलाललाई बैङ्क तथा रेमिट्यान्समार्फत् पैसा पठाएको प्रमाणसमेत आफूहरूसँग रहेको उनीहरूले बताए । सुनसरी अमाही वेलहाका मो. इसिक मियाँ, जियावुल मियाँ, मुर्सिद अन्सारी, मोरङको विराटनगर–११ का मो. फारुक मियाँ, कटहरी–४ का मो. मुस्तफा, राजकिशोर साह, कदमाहाका मो. असलम, जमिर मियाँ, अख्तर मियाँ, मो. मुख्तार आलम, रहिम आलम र मो. हासिम ठगिएका हुन् ।

मण्डलले दुबई पठाइ दिने प्रलोभन देखाउँदै रकम लिएको बताए । ‘चार महिनादेखि लगातार चार पटक काठमाडौं बोलाएर पनि हामीलाई पठाइएन,’ मो. असलमले भने, ‘ओहोर(दोहोर र हप्तौंदिनसम्म होटलको बसाइले आर्थिकरूपमा झन समस्यामा प¥यौ।’ एजेण्टलाई बैङ्कमार्फत् पठाएको र खर्चसहित जनही १ लाख ५० हजार रुपैयाँ डुबेको उनले बताए ।

अन्तिम पटक उनीहरूलाई गत मङ्सिर ८ गते काठमाडौं बोलाएको थियो, तर मण्डलले नक्कली भिसाको कागज दिएर हिडेपछि आफूहरू समस्यामा परेको मो. मुस्तफाले बताए । ‘भिसा जाँच गराउँदा नक्कली भएको थाहा पाएपछि घरबाट पैसा मगाएर फर्किनु प¥यो’ उनले थपे, ‘हिजोसम्म कसरी विदेश जाने भन्ने थियो, अब पैसा कसरी असुल गर्ने भन्ने चिन्ता थपिएको छ ।’

युवाहरूले शुक्रबारै जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेको आप्रवासन श्रोत केन्द्रमा निवेदन दर्ता गराएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई पनि समस्याका विषयमा जानकारी गराएका छन् । केन्द्रकी परामर्शदाता निता चौधरीले एजेण्ट सम्पर्कमा नरहेकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत् पहल गरेर युवाहरूलाई न्याय दिलाउने बताइन् ।