पाँचथर/दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिका-५, मा सार्बजनिकस्थलमा मद्यपान सेवन र बेचबिखन निषेध गरिएको छ ।

वडापालिकाले साँझ चार बजेदेखि राती आठ बजेसम्मको चार घन्टा बाहेक दैनिक २० घन्टा सार्वजनिकस्थलमा मद्यपान सेवन र बेचबिखन निषेध गरेको हो । मद्यपान सेवनका कारण अनावस्यक हो-हल्ला, झै-झगडा हुने लगायतका अन्य आपराधिक क्रियाकलाप र सामाजिक सद्भावमा खलल पुग्ने गतिबिधि रोक्न यस्तो निर्णय गरिएको वडा अध्यक्ष अबिनाश लाओतीले बताए ।

उनले भने- ‘वडाका सामाजिक अगुवा र बुद्धिजिविहरुको सुझाब अनुसार वडापालिकाले यस्तो निर्णय गरेको हो ।’

वडा अध्यक्ष आलोतीका अनुसार सार्वजनिकस्थलहरु, हाटबाजारदेखि दोकानसम्म दैनिक २० घन्टा मद्यपान निषेध गरेको हो । वडापालिकाको निर्णयलाई बेवास्ता गरी मद्यपान बेचबिखन र सेवन गर्नेलाई पहिलोपल्ट सचेत गराइने र दोस्रोपल्ट भेटेमा सार्बजनिक मुद्धा लगाइने बताइएको छ ।

त्यस्तै अटेर गर्ने व्यवसायीको व्यवसाय दर्ता नै खारेज गर्ने सम्मको निर्णय वडापालिकाले गरेको वडा अध्यक्ष लाओतीले बताए ।

वडामा आदिबासी जनजातिको बाहूल्यता भएकाले उनीहरुले जाँड र रक्सि विभिन्न पूजाआजा र कर्मकाण्डमा संस्कृतिको रुपमा प्रयोग गर्ने भएकाले आदिबासी जनजातिको संस्कृतिकलाई सम्मान गर्दै पूर्ण रुपमा भने निषेध नगरिएको उनले बताए ।

वडापालिकाले मद्यपान सेवनका लागि समयसिमा तोकिदिएपछि गाउँ शान्त बन्दै गएको बताए । उनले भने- ‘यसले आपराधिक गतिबिध न्यूनिकरण सँगै वडालाई शान्त र सु-संस्कृत बनाउन सहयोग पुगेको छ ।’ वडापालिकाको निर्णयको कार्यान्वयनका लागि कुरुम्बा प्रहरी चौकिले हरेक तीन-तीन दिनमा अनुगमन गर्ने गरेको प्रहरी चौकिले जनाएको छ ।