कर्नाटक / भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ। झण्डै ७२ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मन्दिरको प्रसाद नखाएका एक व्यक्तिका अनुसार पूजापछि भात र टमाटरको अचार खान दिइएको थियो। प्रसादका रूपमा दिइएको भातमा दुर्गन्ध आइरहेको थियो। केहीले त्यसलाई फ्याँकेका थिए भने खानेहरूलाई तत्कालै पेट दुख्ने र बान्ता हुन सुरु भएको थियो। फ्याँकिएको प्रसाद खाएका कागहरू समेत मरेका छन्। प्रहरीले घटनास्थलबाट खानेकुराको नमुना परीक्षणका लागि पठाएको छ । मन्दिर प्रशासनका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। खानेकुरामा विषादी मिसाइएको हुनसक्ने प्रहरीको आशंका छ। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।