विजयपुर/१२ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै धरानमा जारी लैङ्गिक हिँसाको १६ दिने अभियान सोमबारबाट सकिएको छ ।
शिक्षा सदन मावि धरान १५ मा आयोजित समापन कार्यक्रममा राजनितिक दल, संघसंस्था लगायत नागरिक समाजले १२ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै धरानलाई हिंसा मुक्त समाज बनाउन घोषणा पत्र सार्वजनिक गरेका हुन।
धरानमा जारी १६ दिने लैङिगक हिंसा विरुद्धको अभियानको समापनको अवसरमा सहभागीहरुले लैङिगक समानता र हिंसा विरुद्ध नीतिगत तथा कानुनी व्यवस्थालाई जनस्तर सम्म पुर्याउँदै जानकारीमुलक र सचेतनात्मक कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
धरान महिला सञ्जालको आयोजनामा भएको १६ दिने अभियानको समापन गर्दै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले परिवारबाटै हिंसाको सुरुवात हुने भएकाले यसको अन्त्य गर्न पहिलो प्राथमिकता रहेको बताए ।
लैङिगक हिंसा भन्ने बित्तिकै महिला माथि हुने हिंसा मात्रै भन्ने बुझाईलाई पनि चिर्न आवश्यक रहेको कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । समाजमा भएका हिंसाहरुको न्युनिकरणका सवै पक्ष जुट्न आवश्यक रहेको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् ।
महिला सञ्जाल धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएकोे १६ दिने अभियानमा धरानका विभिन्न विद्यालय, टोल, वडाहरुमा हिंसा विरुद्धको कानुनी उपचार र त्यसको प्रतिकार गर्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।