भद्रपुर/झापाको उत्तरी क्षेत्रमा रहेका वनजङ्गलबाट धमाधम काठ तस्करी भइरहेको पुष्टि भएको छ ।

झापाका खुदुनाबारी,होक्से,बुधबारे,टिमाइ लगायतका वनबाट काठ तस्करी भइ झापाकै विर्तामोड, धुलाबारी,शनिश्चरे, चारआली लगायतका बजारमा अवैध रुपमा बीक्री हुने गरेको पाइएपछि यस्तो पुष्टि भएको हो । सशस्त्र प्रहरी बल हेडक्वाटर गण नम्बर २ बाट खटिएको प्रहरीले छोटा हात्तीमा राखिएको काठसहित चालकलाइ नियिन्त्रणमा लिएपछि अवैध धन्दाको पुष्टि भएको हो ।

शुक्रबार दिउँसो उत्तरी क्षेत्रबाट मे १ च १५१४ नम्बरको रातो प्लेट अङ्ति छोटा हात्तीमा राखेर विर्तामोड तर्फ ल्याउदै गरेको अवस्थामा विर्तामोड नगरपालिका ६ स्थित सैनिक मोडबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गाडीमा रहेको सखुवा जातका ३३ क्यूफिट तयारी झ्याल ढोकाका चौखट वरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ का डिएसपी ओजिस ओलीले जानकारी दिए । गाडीमा पूर्ण फर्निचर उद्योग खुदुनाबारीले विभिन्न मितिमा काटिएको बिलसहित गाडी चालक अर्जुनधारा ४ का अन्दाजी ३८ वर्षिय हेमचन्द्र दाहाललाइ नियन्त्रणमा लिइएको डिएसपी ओलीले बताए ।

बिलमाथि शङ्का लागेकोले बरामद काठ र गाडीको अनुमानित साढे आठ लाख मूल्य कायम गरेर चालक दाहालसहित गाडी र काठलाइ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा पठाइएको उनले जनाए ।

दुईमहिना अघि उत्तरी क्षेत्रबाट नै ५ लाख मूल्य बराबरको अवैध काठ बरामद भइसकेको उनले जानकारी दिए ।

त्यसैगरी सशस्त्र प्रहरीले भद्रपुर क्षेत्रबाट गएराती ७० हजार मूल्य बराबरको सुटिङ् कपडा बरामद गरेको जनाएको छ । बरामद कपडालाइ आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।