दमक/सुन्दा अचम्म लाग्न सक्छ किशानलाई खेतमै अध्ययन, खेतमै गृहकार्य भन्दा । तर, झापा कमल गाउँपालिकाका किशानलाई खेतमै अध्ययन र गृहकार्य गराउन शुरू गरिएको छ ।

झापाको कमल गाउपालिकाको मूल कृषक समूह अन्तर्गत वडा नम्बर–६ स्थित हरियाली कृषक समूहका किशानले गृहकार्य गरेबापत बीउ पाउने गरेका छन् । कृषक मदनकुमार बोहोराले गृहकार्यका लागि एक किलो घाँसको बीउ पाएका छन् ।

बोहोराले मूल कृषक समूहमार्फत् १८ हप्ताको कृषि पाठशाला अध्ययनपछि गृहकार्यवापत एक किलो भेच जातको घाँसको बीउ पाएका हुन् । उनले दिनभरी कृषि पाठशालामा सिकेको ज्ञानलाई खेतमा प्रयोगात्मकका लागि दिइएको हो ।

बोहोरा जस्तै यो पाठशालामा अध्ययन गरिरहेका २० प्रशिक्षार्थी किसानलाई प्रतिव्यक्ति गृहकार्यवापत एक एक किलो बीउ प्रदान गरिएको हो ।

यस्तो गृहकार्य गर्नका लागि किशानसँग कुनै कापी र कलम भने थिएन । कोठाभित्र डेक्सबेञ्च पनि थिएन । सबैको हातमा एक किलो युरिया मल, एक किलो डिएपी र तेती नै मात्रामा भेच जातको घाँसको बीउ थियो । कमल गाउँपालिकाले सोमबारदेखि कृषि पाठशाला शुरु गरेको छ । किशानलाई हिउदे घाँस रोप्ने तरिकाबारे सिकाइदै छ ।

पाठशालामा ९० प्रतिशत सिकाई प्रयोगात्मक गराइदैछ । यहाँ साधारण लेखपढ गरेका कृषकमात्रै छैनन् । ३० वर्ष दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका निलम कट्वाल पनि त्यही पाठशालाका विद्यार्थी हुन् । समूहका अध्यक्षसमेत रहेका कट्वाल कलेजमा विद्यार्थी अध्यापन गरेजस्तो नहुने उनले बताए ।

कलम गाउपालिकाले किसानलाई पशुपालन र दूध उत्पादनका लागि हिउदे घाँसको बीउ उत्पादन गर्ने उद्देश्यले यहाँ डेढ बिघा जग्गामा सामूहिक रूपमा खेती गरिदै आएको छ । कलम गापा कृषि शाखाका प्राबिधिक सन्तोष भण्डारीका अनुसार पशुसेवा बिभागको ससर्त कार्यक्रम अन्र्तगत बीउ मल अनुदान बापत प्राप्त भएको हो ।

खासगरि दुध उत्पादन गर्ने पशुपालनका लागि अत्यधिक उपयोग भएकाले भेच जातको घाँसको बीउ उत्पादन गर्न लागिएको हो । ‘यो घाँसमा १५ देखि २० प्रतिशतसम्म प्रोटिन हुने भएकाले अन्य दाना समेत खुवाउने नपर्ने हुन्छ’ प्राविधिक भण्डारीले भने ।