धरान । धरान–१७ को उदय सामुदायिक वन भित्र कुहिएको अवस्थामा अाइतबार एक मानिसको शव फेला परेको छ ।

धरान–५ बगरकाेटकाे सेउतीपुल नजिकैका बखतबहादुर रामदामको कुहिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनको शव करिव २ महिनादेखि उक्त स्थानमा रहेको हुन सक्ने उनले अनुमान लगाए । घास दाउरामा गएका मानिसले कुहिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी लामो समयदेखि हराइरहेको स्थानीयले बताएका छन् । रामदामको हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन् । किनकी उनको जग्गा राखेर एक व्यक्तिले सुन पसल सञ्चालनमा ल्याएका थिए । उक्त सुन पसलका सञ्चालकले रकम तिर्न नसकेपछि बैंकको रामदामको जग्गा लिलामी प्रक्रिया अगाडि बढाएको स्थानीय बताउछन् ।

उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा पोष्टमार्टमको लागि राखिएको छ । प्रहरीले पोष्टमार्टमको रिपोर्टका आधारमा अनुसन्धानलाई अघि बढाउने भएको छ । स्थानीयले सोमबार इलाका प्रहरी कार्यालय धरानमा पुगेर प्रहरीलाई रामदामको विषयमा सम्पूर्ण जानकारी गराउने भएको छ ।