इनरुवा /सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन गरेको छ । दुई महिनाको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएपछि सुरक्षा रणनीतिमा फेरबदल गरेको प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा दस्ता परिचालन गरेको छ ।
एकपछि अर्को हतियार बरामद हुँदै जानु र गोली हानी हत्या गरिने जस्ता घटना दोहोरिनुले जिल्लामा सुरक्षा थ्रेट महसुस समेत गरेको प्रहरीले सुनसरीमा विशेष सुरक्षा दस्ता परिचालन गरेको जनाएको हो । विशेष तालिमप्राप्त दस्तामा हतियार सहित सादा पोसाकका सुरक्षाकर्मी सुनसरीको हकमा परिचालित गराइएको प्रहरीको भनाइ छ ।
सुनसरी प्रहरीले दिएको जानकारीअनुसार आवश्यक परेको खण्डमा विशेष दस्ताले गोली चलाउन आदेश कुर्नु पर्ने छैन । अवस्थालाई मध्यनजर गर्दै जवाफी कारबाही गर्नसक्ने अधिकार पाएको सुरक्षाकर्मी आवश्यक परेको खण्डमा टार्गेट काउण्टरमा उत्रन सक्नेछ ।
खुला सीमाक्षेत्रमा हुने आवत–जावतसँगै आपराधिक कार्यमा संलग्न रहेकाहरूको सक्रियता देखिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल–भारत सीमासहित आसपासका क्षेत्र र सम्भावित सुरक्षा थ्रेट र संवेदनशील मानिएका भेगका अलावा जिल्लाभर मुभमेन्ट रहने गरी थप टोली सहितको सुरक्षा दस्ता परिचालन गराइसकिएको सुनसरी प्रहरीले जनाएको छ ।
जसका लागि सुनसरी प्रहरीले अन्य जिल्लामा रही कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सुरक्षा मामिलाका दक्ष र अनुभवी जनशक्तिसमेत जिल्ला भित्राएकाे छ । हतियारसहितका व्यक्ति फेला परेको खण्डमा वा सूचनाका आधारमा अवस्थामा मानव अधिकारको उल्लङ्घन नहुने गरी नियन्त्रणमा लिने प्रयास गरिने प्रहरीले बताएको छ । अवस्था नियन्त्रणबाहिर जाने सम्भावना रहे, आपराधिक व्यक्ति वा समूह सहजै नियन्त्रणमा लिन नसकिए, आक्रमणको सम्भावना बढे वा शान्ति सुव्यवस्था खलल पुग्ने अवस्था सिर्जना हुने कुरालाई मनन् गरी आपराधिक प्रवृत्तिका व्यक्ति वा समूहउपर सोझै गोली हान्न सक्ने रणनीतिका साथ सुनसरीमा विशेष सुरक्षा दस्ता परिचालन गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
सवारी चेकजाँच, सरप्राइज चेक पोइन्ट खानतलासीसहित काउण्टर पार्टसँगको समन्वयमा खुला सीमाका कारण हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्यको थालनीसमेत गरिसकिएको प्रहरीको भनाइ छ ।
सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले सङ्घीय र प्रादेशिक सरकार मातहतबाट प्राप्त निर्देशन र कार्यादेश अनुरूप जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरिएको बताएका छन् । अपराध नियन्त्रण तथा निर्मूल पार्ने अभियान आम नागरिकको सहकार्य बिना सम्भव नहुने भन्दै सुनसरी प्रहरीले आवश्यक साथ र सहकार्यका लागि सर्वसाधारणमा आग्रहसमेत गरेको छ ।
असोज ४ गते दिनदहाडै हरिनगर गाउँपालिका–२ भुटाहामा मुस्लिम अगुवा खुर्शिद आलममाथि गोली प्रहार हुँदा उनको घटनास्थलमै ज्यान गएको थियो । सो घटनाको अनुसन्धान टुङ्गो नलाग्दै ६१ दिनपछि दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनउपर मङ्सिर ५ गते बिहान गोली हानियो र उनको समेत ज्यान गएको थियो ।