सिरहा । सिरहाको सुखिपुर नगरपालिका–२ (छजना) सामूहिक बलात्कार घटनाका दोषीलाई चाडो नियन्त्रणमा लिई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

दुईसाता बितिसक्दा पनि प्रहरीले दोषीको खोजी गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालय पतारीमा शुक्रबार धर्ना दिएको हो । गाउँमा छैठको उपलक्ष्यमा नाटक भइरहेको बेला गत कात्तिक २७ गते राति घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मियाँ, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।

मुखमा कालोपट्टि बाँधेर आएका उनीहरूले महिलालाई निर्घात रूपमा कुटपिट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना–साना दुईटा नानीहरूमात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुने मौका छोपेर उनीहरूले मलिामाथि करणी गरेको बताए । महिलाको श्रीमान वैदेशिक रोजगारीको लागि कतारमा रहेका छन् ।

मुखमा कपडा बाधेर आएकाहरूलाई महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो ।

बलात्कारका संलग्नमध्ये समशुल मियाँ, इसराफूल मियाँ दुईजनालाई नियन्त्रणमा लिएको छ । उनीहरू दुवै जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । दुईजना अझै फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय पतारीका प्रमुख इन्स्पेक्टर भुषण यादवले अपराधमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र बाँकी दुई जनाको पनि खोजी भइरहेको जनाएको छ ।

यता गाउँलेहरूले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको आरोप लगाएको छ । एक गाउँलेका अनुसार अपराधीहरूको परिवारसँग सम्पर्कमा रहे पनि प्रहरीले खोजीमा तदारूकता नदेखाएको बताए ।

अधिकारकर्मीहरूले बलात्कार घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने बताए । धर्नामा अधिकारकर्मी सरोज राय, महिला अधिकारकर्मी श्यामकुमारी साहलगायत उपस्थित रहेका थिए ।