विराटनगर/ मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर सोमबार तीन जनाको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ मा भएको दुर्घटनामा परेर पथरीशनिश्चरे नगरपालिका–१० का ६० वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको छ ।

विराटनगरबाट पथरीशनिश्चरेस्थित घर फर्कने क्रममा उप्रेतीले चलाएको मे. ९ प २७७९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवक’मार पोखरेलले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उप्रेतीको उपचारका क्रममा विराट नर्सिङ होममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भरतमणि आचार्य घाइते भएका छन् ।

त्यस्तै बेलबारी नगरपालिका–१० भाउन्नेमा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को. १ ख ४०१४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको को. २१ प ७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको द’र्घटनामा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका–४ का २५ वर्षीय सुजन मादेन र पछाडि सवार मिक्लाजुङ गाउँपालिका–५ की २८ वर्षीया गोपीदेवी राईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिकाको गुन्टेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ जलजले–मुर्कुची सडक–खण्डस्थित गुन्टेमा चुनढुङ्गा बोकेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

आइतबार राति वा. ३ ख ६११५ नम्बरको टिपरले स. ५ प ३१२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट पछाडि सवार त्रिनपा–७ का १८ वर्षीय सोनाम राईको घटनास्थलमै मृत्य’ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मोटरसाइकल चालक त्रिनपा–७ निवासी भूपेन्द्र राई सामान्य घाइते भएका छन् । गाडी र चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै उदयपुरकै बेलका नगरपालिका–६ मा मोटरसाइकल सिक्ने क्रममा पुलको पोलमा ठोक्किएर दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वराह–६ का शैलेस माझी र सोही वडाका जितेन राई रहेका छन् । पश्चिमबाट पूर्व आउँदै गर्दा बेलका–९ स्थित खोरिया पुलमा को. २२ प २३४३ नम्बरको मोटरसाइकल ठोक्किँदा शैलेसको घटनास्थलमै मृत्यु भएको थियो ।

राईको भने उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति मृत्यु भएको स्थानीय शरद कोइरालाले जानकारी दिए ।

शैलेसले हाँकेको मोटरसाइकल एक्कासि पुलमा ठोक्किएको थियो । चन्द्रमणि ज्वेलरीमा मिस्त्री काम गर्दै आएका सुवोद चौधरीको मोटरसाइकल कसैलाई नसोधी बिहान ४ बजे उनीहरूले लगेको स्थानीय चन्द्रमणि मण्डलले जानकारी दिए ।