धनकुटा/जिल्ला सदरमुकाम धनकुटा बजारमा केही वर्षयता नयाँ–नयाँ ब्राण्डका कम्प्युटर तथा ल्यापटप चोर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
हरेक वर्ष दशैं–तिहारको बिदाको समयमा कम्प्युटर तथा ल्यापटप चोर्ने गिरोह धनकुटामा सक्रिय भएको पाइएको हो । यसरी सरकारी कार्यालय र सरकारी विद्यालयको ल्यापटप चोर्ने गिरोहलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न त परै जाओस् कसरी, किन र कोमार्फत् भन्नेसम्मको सुइँको पाउन सकेको छैन ।
हरेक वर्ष धनकुटा बजारमा कम्प्युटर र ल्यापटप हराउँछ, तर प्रहरीले न त चोरिएको कम्प्युटर फेला पाछर्, न ल्यापटप नै ?
ढिलो गरी सार्वजनिक भएको चोरीको घटनाको जानकारीअनुसार गएकोे यसपालिको दशैं–तिहारमा धनकुटा नगरपालिका वडा नं.७ चुलीवनमा रहेको निजामती आवशीय विद्यालयको कम्प्युटर ल्यावमा रहेको डेल ब्राण्डका ६ वटा ल्यापटप हराएको थाहा भएको छ ।
विद्यालयका प्रिन्सिपल सुरेश काफ्लेका अनुसार दशैं–तिहारको समयमा विद्यालय बिदा हुँदा प्रतिगोटा ३८ हजार, ४ रुपैयाँ मूल्य पर्ने ५ वटा डेल ब्राण्डका ल्यापटप हराएको बताएका छन् । उनले चोरी गत कार्तिक ६ गते भएको बताए । उनले विद्यालय बिदा असोज २४ गते भएको र करिब २ हप्तापछि कम्प्युटर चोरी भएको थाहा पाएको बताए ।
प्रिन्सिपल काफ्लेले विद्यालयको कम्प्युटर ल्यावमा रहेका जम्मा १३ वटा कम्प्युटरमध्ये ५ वटा डेस्कटप, ८ वटा ल्यापटप रहेकोमा जसमध्ये ५ वटा ल्यापटप चोरी भएको बताए । उनले विद्यालय बन्द भएपछि कार्तिक ६ गते छड्के जाँचको रूपमा विद्यालयमा पुग्दा चोरी भएको थाहा पाएको बताए ।
चोरले ढोका फोडेर वा चाबी तोडेर नभै चाबी मिलाएर खोलेर लगेको पाइएको छ । काफ्लेले करिब २ लाख मूल्य बराबरको ल्यापटप हराएको ब्लाष्टलाई बताए ।
सो घटनाको विषयमा प्रहरीले विद्यालयका चौकीदार रामचन्द्र घिमिरे र कम्प्युटर शिक्षकसँग आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । उनले घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको बताए ।
अघिल्लो वर्ष दशैं–तिहारको बिदाको समयमा धनकुटा नगरपालिका कार्यालय र धनकुटा न.पा.वडा नं.५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयको एक दर्जनको हाराहारीमा ल्यापटप कम्प्युटर हराएको थियो ।
तर, सो बखत पनि प्रहरीले न त ल्यापटप, कम्प्युटर फेलापार्न सक्यो, न त चोर नै पत्ता लगाउन सक्यो । घटना त्यत्तिकै गुपचुप भएको थियो । यो वर्ष पनि कतै त्यस्तै त हुने होइन भन्ने बजारवासीमा चिन्ता बढ्दै गएको छ ।
यता निजामती आवशीय विद्यालयको कम्प्युटर ल्यावमा विद्यार्थीहरूले प्रयोग गर्ने ५ वटा ल्यापटप चोरी भएसँगै विद्यार्थीहरूको पठन–पाठनमा असर परेको विद्यार्थीहरूले बताएका छन् । करिब १ सय
५० को हाराहारीमा विद्यार्थीहरू रहेको र सबै विद्यार्थीहरूले प्रयोग गर्ने कम्प्युटर ल्यावको कम्प्युटर चोरले लगिदिएपछि पठन–पाठनमा असर परेको उनीहरूले गुनासो गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल काफ्लेले भने केही दिनसम्ममा भेटिन्छ कि भनेर पर्खिएको बताउँदै नभेटिएमा नयाँ कम्प्युटर खरिद गरेर भए पनि कम्प्युटर शिक्षाको पढाइलाई असर नपार्ने ब्लाष्टलाई बताएका छन् ।