भद्रपुर / सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने दुइजना नक्कली परीक्षार्थीलाई सवारीसहित प्रहरीले पक्राउ गरेको छ ।

मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडले वुधबार लिएको सवारी चालकको ट्रायल परीक्षामा अर्कैको नाममा ट्रायल दिएको पत्ता लागेपछि उनीहरू पक्राउ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का ३४ वर्षीय बालकुमार राई र बिर्तामोड नगरपालिका–२ का २३ वर्षीय विवश अधिकारी रहेको जिट्राप्र कार्यालय झापाका इन्स्पेक्टर राजेश राईले जानकारी दिए ।

ट्रायल परीक्षामा अधिकारीको नाममा राईले ट्रायल दिँदा दिँदै उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरिएको इन्स्पेक्टर राईको भनाइ छ । अधिकारीको नाममा राईले ‘बी’ वर्ग अर्थात् कार, जीप, भेनका लागि ट्रायल दिएको उनले जनाए । ट्रायल दिन प्रयोग गरेको बा १७ च ३११२ नम्बरको कारसमेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।