धरान । आधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगहरु लाग्ने क्रम बढ्दो छ । यी रोगका अचुक उपायहरु चिकित्सा विज्ञानले आविष्कार पनि गर्दै आइरहेका छन् । चिकित्सा विज्ञानसँगसँगै घरेलु उपचारका नयाँ विधिहरु पनि खोज र अन्वेषण भइरहेका छन् । पछिल्लो समय विभिन्न रोगको समाधानमा जमराको जुस उपयोगी हुने खबर फैलिरहेका छन् ।
धरानमा जमराको जुस बिक्री गर्न चोकचोकमा घुम्ती पसल खुलेका छन् । ब्लाष्ट खबरले त्यस्ता घुम्ती पसल गर्नेहरु, जमराको जुसका पारखी र चिकित्सकसँग जमराको जुसका फाइदा र प्रयोगका बारेमा खोजी नीति गरेको छ ।

जमराको जुस सेवन गर्ने लहड चलिरहेका बेला रोगीले मात्र नभएर निरोहीहरुले पनि यसको सेवन गर्ने क्रम चलेको छ । जुस बेच्ने पसलमा यसको उपयोगिताबारे लेखिएको भेटेपछि जमराको जुस सेवन गर्न थालेको स्थानीय बताउँछन् ।

जमराको जुस खाने यसका पारखी बढेपछि यसका बिक्रेता पनि बढेका छन् । विज्ञानले पनि यसको फाइदा पुष्टि गरेका कारण व्यापार भइरहेको पसले बताउँछन् ।
क्यान्सर रोग लागेकी आफ्नी आमाको उपचारका क्रममा चिकित्सकले नै जमराको जुस खान सल्लाह दिएपछि निरन्तर सेवन गरिरहेकी स्थानीयले जमराको जुस पसल खोल्ने निधो गरेको बताउँछिन् । उपचारपछि आफ्नी आमामा क्यान्सरको कुनै लक्षण नदेखेपछि आफूले पनि जमराको जुस बिक्री गर्न थालेको बताउँछिन् ।

बिहान साढे ५ बजेदेखि साढे ७ बजेको समयसम्म झण्डै ६०–७० जना ग्राहक एउटा पसलले धान्ने गरेको छ । ब्यापारिक दृष्टिले हेर्दा पनि यो ब्यापार गतिलो आर्थिक स्रोतको माध्यम हुनसक्छ ।
खाद्यतत्वमा हुने फाइबरले शरीरमा नकारात्मक असर पर्ने सामान्य कार्बोहाइड्रेड, बोसो लगायतका पदार्थलाई सोस्ने काम गर्दछ् । जमराको जुसको पनि यस्तै उपयोगिता रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाह बताउँछन् ।

जमराको जुस सेवन गर्नुका बेफाइदा नभए पनि गुणस्तरीय जुस पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुस पिउनुभन्दा अघि डाक्टरको सल्लाह लिएर नियमित सेवन गर्न चिकित्सकहरु स्वयम् सुझाव दिन्छन् ।