काठमाडौं/ श्रीदेवीको ब्लकबस्टर फिल्म मिस्टर इन्डियाको सिक्वेलको प्रतीक्षामा रहेका प्रशंसकहरू निराश हुनुपर्ने भएको छ । उक्त फिल्ममा उनको एक विशेष भूमिका हुने बताइएको थियो । श्रीदेवीको देहावसानपछि कुनै अर्को हिरोइनलाई साइन गराइने सम्भावना व्यक्त गरिएको थियो । तर अब फिल्म नै नबन्ने कुरा उठेको छ ।

बलिउड हंगामा डट्कमको एक रिपोर्टअनुसार, मिस्टर इन्डिया फिल्मका निर्देशक शेखर कपूरले भने, ‘सिक्वेलका विषयमा बोनी कपूरको के धारणा छ मलाई थाहा भएन तर म कहिले पनि यो फिल्म निर्देशन गर्नेछैन । श्रीदेवी नभएको मिस्टर इन्डियाको सिक्वेल बनाउने प्रश्नै उठ्दैन ।’

सूत्रहरूबाट प्राप्त जानकारीअनुुसार, मिस्टर इन्डियाका तीन मुख्य कलाकार अनिल कपूर, श्रीदेवी र अमरीश पुरीमा दुईजनाको मृत्यु भइसकेकाले सिक्वेल बनाउन असम्भव छ ।

श्रीदेवी बाँचिरहेकी भए मिस्टर इन्डियाको सिक्वेलको तयारीमा व्यस्त हुन्थिन् । सिक्वेलमा अघिल्लो फिल्मको कथालाई नै अघि बढाइने कुरा थियो । त्यसमा श्रीदेवी र अनिल कपूरबाहेक नयाँ जोडीलाई पनि कास्ट गरिने सम्भावना थियो ।

एजेन्सी