मोरङ/पूर्वको विकासको गतिमा सक्रिय मोरङको पथरी शनिश्चरेस्थित पथरी बजारको सडक क्षेत्रलाई व्यवस्थित गर्ने अभियान थालिएको छ ।

पूर्वपश्चिम मुख्य सडकको बजार क्षेत्रमा पर्ने सडक किनारामा सर-सामान राख्ने, पसल, टहरा निर्माण गर्ने गर्नाले बजारको सुन्दरता बिग्रिनुका साथै यातायातका साधनको दुर्घटना समेत बढेको अवस्था विद्यमान छ । सो अवस्थालाई मध्यनजर गरी पथरी शनिश्चरे नगरपालिकाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका साथै स्थानीयवासीहरुको सहकार्यमा मुख्य सडक क्षेत्रमा निर्माण भएका पसल, टहरा, ग्यारेज, पार्किङस्थल, निर्माण सामग्री सहित विभिन्न सामग्री हटाउने काम मंगलवारबाट थालिएको हो ।

सो अभियानमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितले सडकको दुवैतर्फ ८२-८२ फिट सडक क्षेत्र नापजाँच गरेर सो भाग खाली गर्ने काम भएको हो । जसमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहितका संघका पदाधिकारी एवम् व्यवसायी तथा स्थानीय सामाजिक अगुवाहरुको सहभागिता रहेको छ ।

स्काभेटरको समेत सहयोगमा पथरी खोलाबाट थालिएको अभियान पूर्वपश्चिम मुख्य सडकको उत्तरी क्षेत्रमा मंगलवार सम्पन्न भएको छ । बुधबार दक्षिणी क्षेत्रको सडक खाली पार्ने अभियान जारी रहेको उपप्रमुख वास्तोलाले जनाइन् । उनले सो क्षेत्रलाई सम्याउँदै सडकको सीमाक्षेत्रमा ड्रेन निर्माणको योजना अघि सारिने उल्लेख गर्दै नगरको मुख्यचोकको सुन्दरता कायम गर्न सबैको सधैंको सक्रिय सहकार्यका लागि आव्हान गरेकी छन् ।

मुख्य सडक क्षेत्र खाली गरेपछि नगरका अन्य सडक क्षेत्र समेत त्सैयगरी खाली गरेर सुन्दरबस्तीको पहिचान झल्काउने नगरपालिकाको योजना रहेको उनले सुनाइन् । यस अघि पटक पटक सूचना दिँदापनि सडक क्षेत्र खाली नभएपछि सबैको सहकार्य र सहभागितामा सडक क्षेत्र खाली गरिएको हो । केही घरको बरण्डा र भित्तो समेत ८२ फिट क्षेत्रमा पर्न गएको देखिन्छ । उता, जिल्लाको बेलवारीमा पनि नगरपालिकाकै अगुवाईमा सडक खाली गर्ने अभियान अघि बढेको छ । पटक पटक सुचना जारी गर्दापनि सडकको अतिक्रमण नहटेपछि नगरपालिकाले मंगलबारदेखि पूर्वपश्चिम मुख्य सडक क्षेत्रमा डोजर चलाउन थालेको छ ।

नगरपालिका भित्र राजमार्गमा बनाइएका घर टहरा तथा अन्य व्यबसायिक प्रयोजनका लागी बनाइएका संरचना हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर लगाएर भत्काउन थालेको छ । सडकको केन्द्रविन्दुबाट दुवैतर्फ ८२.५ फिटभित्र बनेका संरचना हटाउनका लागी पटक-पटक सुचना जारी गरेपनि अटेर गरेकाले सम्रचना हटाउन डोजर लगाईएको नगरपालिकाका प्रवक्ता योगेन्द्र प्रसाद सुवेदीले बताए ।

बिगत लामो समयदेखि सडक अतिक्रमण हटाउने प्रयास भएपनि स्थानीयले अटेर गर्दै आएका थिए । जनप्रतिनिधि आएपछि पनि नगरपालिकाले सडकको अतिक्रमण हटाउन पटक-पटट सुचनानै जारी गरेको थियो ।

बेलबारी नगरपालिकाले वडा नम्बर २ बाट कामको सुरवात गरेको छ । सडक अतिक्रमण हटाउने क्रममा स्थानीयले अवरोध समेत सिर्जना गरेका थिए । बिना सुचना नगरपालिकाले जनताको सम्पत्तिमा डोजर चलाएको र आफुहरुलाई २४ घण्टा समय पनि नदिएको भन्दै स्थानीय बासिन्दाले अबरोध सिर्जना गरेपछि केही समय अबरोध हटाउने काम स्थगित भएको थियो ।