मुम्बई/ ‘आफ्नो लडाईंमा म बेसहारा हुँ किनभने मेरो दुःख कसैलाई देखाइदिँदैन । जसको कारण म यत्रो ठूलो कदम उठाउन बाध्य भएँ र सार्वजनिक रुपमा कपडा उतारेँ ।’ यो भनाई तेलुगू अभिनेत्री श्रीरेड्डी मल्लिडीको हो ।

तेलुगू फिल्म उद्योगमा कथित यौन उत्पीडनबिरुद्ध आफ्नो विरोध जनाउँदै पछिल्लो हप्ता हैदराबादको फिल्म नगरमा मूभी आर्टिस्ट एसोसिएशनका अगाडी श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् । श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो ।

उनी प्रश्न गर्छिन्, ‘जब फिल्मी दुनियाँका मानिसहरु मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’

श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभी च्यानलमा प्रस्तोताको रुपमा गरेकी थिइन् । पाँच वर्षपछि उनी फिल्ममा काम गर्न थालिन् । केही तेलुगू चलचित्रमा उनले सानोतिनो भूमिकामा उनी देखिएकी थिइन् ।

तर, यस घटनापछि उनी एकाएक चर्चामा आएकी छिन् ।

उनले हालसम्म यौनउत्पीडनको कुनै प्रमाण पेश गरेकी छैनन् न त उनी प्रहरीमा उजुरी गर्न चाहन्छिन् ।

यसबाट प्रश्न उठ्छ, के उनले यस्तो हरकत मानिसहरुको ध्यान आफ्नो तर्फ तान्न र लोकप्रियताका लागि त गरेकी होइनन् ?