एजेन्सी/ एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा समीना सिन्धु नामकी ६ महिनाको गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा उभिएर गीत गाउन नसकेपछि गोली हानि हत्या गरिएका थिए । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका हुन् ।

तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको प्रहरीले जनाए । गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान घटनास्थलमै गएको छ ।

आरोपीलाई गिरफ्तार गरिसकिएको छ । उक्त घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेका छन् ।