नेपाली समाजमा विवाह सम्बन्ध महिला–पुरुषलाई जीवनपर्यन्त एक–अर्कासँग जोड्ने डोरी मानिन्छ, तर फैलँदो आर्थिक दायरा, सामाजिक एवं मानसिक विचलन तथा सुखभोगको लालसाका कारण त्यही डोरी श्रीमान्को सम्पत्ति हड्प्ने गलपासो बनिरहेको पाइन्छ ।
बाह्रबीसे नगरपालिकाअन्तर्गतको विकट गाउँकी समीक्षा कार्की (नाम परिवर्तन) को काठमाडौंका देवेन्द्र आचार्यसँग प्रेम बस्यो । २४ वर्षीया समीक्षा र २३ वर्षीय देवेन्द्र दुवै एक–अर्काबिना बाँच्न नसक्ने भएपछि परिवारको सहमतिमा धूमधामसँग विवाह भयो । विवाह गरेको एक वर्षमा उनीहरूको छोरा भयो । छोरा पाएपछि समीक्षाले माइत आएको मौका पारेर इलाका प्रहरी चौकी बाह्रबीसेमा श्रीमान्ले आफूलाई यातना दिएको जाहेरी दिइन् । श्रीमान् देवेन्द्रले आफूले पारपाचुके गर्न नचाहेको भन्दै इन्कार गरे । हेर्दाहेर्दै विवाद चर्किएर परिवारको प्रतिष्ठासम्म पुग्यो । त्यसपछि समीक्षाले आफ्नो ३ लाख रुपैयाँ लिँदै देवेन्द्रसँग डिभोर्स गरिन् ।
श्रीमान् देबेन्द्र र उनको परिवारले त्यसैमा चित्त बुझाए । फेरि वर्ष दिनपछि तीनै समीक्षा अर्का श्रीमान्विरुद्ध हकदाबी गर्दै प्रहरी चौकी पुगिन् । त्यतिबेला प्रहरीले आलटाल गर्ने कुरै थिएन । दोस्रो श्रीमान् दलेन्द्र खड्का ९नाम परिवर्तन० सँग २ लाख लिएर उनी अकस्मात् गायब भइन् ।
जुगल गाउँपालिकाकी २७ वर्षीया मिठु विक एक्कासि घरबाट हराइन् । प्रहरी र पति यमराजद्वारा उनको तीव्र खोजी गरियो । घरबाट सुन र पैसा लिएर हिँडेकी मिठुले वर्ष दिनपछि नयाँ श्रीमानसँगै घरमा आएर आफ्नो हक मागिन् । लामो समयपछि भेटिएकी श्रीमती अरूसँगै आएपछि श्रीमान् छाँगाबाट खसेजस्ता भए । अझ, त्यसमाथि आफ्नो सम्पत्तिमाथिको हकदाबीले उनलाई हैरान बनायो । दुवैबीच हात हालाहालको अवस्था सिर्जना भयो । कुरा प्रहरीसम्म पुगेपछि श्रीमान्ले श्रीमतीको इच्छाबमोजिम सम्पत्ति दिन करै लाग्यो ।
कान्तिपुर