विराटनगर । विराटनगरका व्यवसायी पशुपति भगतलाई आक्रमण र उद्योगी व्यापारीलाई धाक धम्की दिँदै रकम अशुल गर्ने गरेको अभियोगमा विराटनगरका ३८ वर्षिय एलिस गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रवार राती अबेर प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो ।

विगतमा पर्शुराम वस्नेतको समूहमा रहेर गुण्डागर्दी गर्ने गरेका उनी पछिल्लो समय वस्नेतसंग छुट्टिएका थिए । गुण्डागर्दीबाटै सम्पती आर्जन गरी होटल व्यवसाय तथा जग्गा कारोवारमा संलग्न रहेका उनीमाथि करिव एक महिना अघि विराटनगरका व्यापारी पशुपति भगतलाई धारिलो हतियारले आक्रमण गरेको अभियोग छ ।

भगतले गुरुङको योजनामा आफ्नो हत्या गर्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरेका थिए । ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी परेपछि गुरुङ फरार भएका थिए । पक्राउ परेका गुङलाई प्रहरीले आइतवार सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘गुरुङले धेरैलाई अहिले पनि धाकधम्की दिने र अशुली गर्ने काम गरिरहेको पाएका छौं र पशुपति भगतलाई आक्रमण गरेको मुद्दा पनि अदालतमा बिचाराधीन छ ’ मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने ‘घटना पछि फरार थिए अहिले पक्राउ गर्न सफल भएका छौं ।’ पक्राउ परेका गुरुङलाई आइतवार अदालत पेश गर्ने तयारी प्रहरीले गरेको छ । अदालतमा हाजिर भइसकेको पाइए गुरुङलाई सार्वजनिक अपराधको मुद्दा अघि बढाउने प्रहरीको तयारी छ ।

मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङ्गसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको थियो । घाइते रहेकै अवस्थामा भगतले आफूमाथि बारम्बार धम्की दिने गरेको बताउँदै आएका थिए ।