काठमाडौं/ बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । जिया खानलाई आत्महत्याका लागि उक्साएको आरोपमा अदालतले अभिनेता सूरज पञ्चोलीविरुद्ध आरोप तय गरेको छ ।

न्यायाधिश केडी शिरभाटेले भारतीय कानुनको धारा ३०६ अन्तरगत २७ वर्षीय अभिनेताविरुद्ध आरोप गरेका हुन् ।

तर अभिनेता सूरज पञ्चोलीले आफु निर्दोष भएको दाबी गरिरहेका छन् । पञ्चोलीका कानुन व्यवसायी प्रशान्त पाटिलले भने, ‘‘सूरजले आफुलाई निर्दोष बताएका छन् र प्रत्यक्षदर्शी (गवाह) को बयान १४ फेब्रुअरीबाट सुरू हुनेछ ।’’

आरोप पत्रका अनुसार अभिनेत्री जिया खान ३ जून २०१३ मा आफ्नै घरमा फाँसीमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी दुई दिन सूरजको घरमा बसेर आत्महत्या गरेकै दिनको बिहान आफ्नो घर फर्किएकी थिइन् ।

यसअघि जिया र सूरज पञ्चोलीकाबीच भएको अन्तिम कुराकानी पनि सार्वजनिक भएको छ । सन् २०१३ टाइम्स अफ इण्डियाले जियाले आत्महत्या गर्नुभन्दा एक घण्टा अघि सूरज पञ्चोलीसँग भएको कुराकानीको खुलासा गरेका थियो ।

यो कुराकानी भएको केही समयपछि नै जिया खानले आत्महत्या गरेको अनुमान लगाउँदै आइएको एबीपी न्यूजले जनाएको छ ।