सुपरस्टार शाहरुख खानले आफ्नो फिल्मको सुटिङ सेटमा महिलामाथि दुर्व्यवहार गर्न कसैको हिम्मत नहुने बताएका छन् । बीबीसीको हार्डटक कार्यक्रममा बलिउडमा लैगिंक समानता र भारतमा सांस्कृतिक भिन्नताका बारेमा कुरा गर्दै उनले भने- ‘जब म फिल्म निर्माण गरिरहेको हुन्छ वा फिल्ममा काम गरिरहेको हुन्छु तब हामी महिलामाथिको व्यवहारलाई लिएर स्पष्ट हुन्छौं, सबैभन्दा सानो कुरामा पनि महिलालाई ध्यान दिन्छौं । जस्तै, फिल्मको टाइटलमा उनीहरुको नाम पहिला आउँछ, यद्यपी यसले हुने त केही होइन तर उनीहरुप्रति एउटा सम्मान हो।’

उनले अगाडि भने, ‘समानता ल्याउन सानोभन्दा सानो कुराले पनि अर्थ राख्छ । हेर्नुस् त हामीले आफूलाई कति सानो बनाएका छौं । कुनै युवतीको नाम अगाडि राख्दा स्पष्ट हुन्छ कि हामी कस्तो छौं । यसो गर्नुको उद्देश्य भनेको समानता नै हो ।’

‘मैले व्यक्तिगत रुपमा कहिले पनि यस्तो गरिन्, आफ्नो आँखाबाट त्यसरी हेर्दा पनि हेरिनँ, म यो भन्न सक्छु कि मेरो सेटमा कसैले पनि महिलामाथि दुर्व्यवहारको हिम्मत गर्न सक्दैनन्, यो विषयमा म स्पष्ट छु।’ शाहरुखले भने । अहिले उनी आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘जिरो’ को सुटिङमा बिजी छन् ।