रणविर सिंह र दीपिका पादुकोणले २०१८ भित्रमा विवाह गर्ने खबर आइरहेका बेला यी दुईको जोडीले पुनः त्यो खबरलाई मजबुत बनाउन सहयोग गरेका छन् । रणविर र दीपिका एकअर्काको हात थाम्दै दुबैजनाद्वारा अभिनित विवादित फिल्म‘पद्यावत’को स्पेसल स्क्रिनिङमा सहभागी भएका हुन् ।

कार्यक्रममा दीपिका सेतो अनारकली कुर्तामा थिइन भने रणविरले पनि उनको पहिरनसँगै मेलखाने सेतो रङ्गको कुर्ता पैजामा पहिरिएका थिए । कयौं बलिउडकर्मी तथा मिडियाका सामु यी दुबै एकसाथ सहभागी मात्रै भएनन् । उनीहरु बिनाकुनै अप्ठयारो एकअर्कासँग गफगर्दै हास्दै निकै उत्साहका साथ एकसाथ उपस्थित भएर कार्यक्रममा उपस्थित सबैको ध्यान आफूतर्फ आकर्षित गरे ।

यसअघि दीपिका र रणविर दुबैजना मिडियामा एकसाथ नआउनका लागि आफूहरुलाई मिडिया भन्दा टाढै राख्न खोज्थे । तर अचेल यी दुबै दुनियाको कुनै परवाह नराखी सहजरुपमा सार्वजनिक स्थल तथा विभिन्न कार्यक्रममा एकसाथ उपस्थित हुने गर्छन् । फिल्म‘पद्यावत’मा दीपिका रानी पद्यावतीको भूमिकामा छिन् भने रणविर अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् ।