काठमाडौं/ आगामी फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ । सलमानको ‘द–दवङ द टुर’ अन्तर्गत उनी नेपाल आउने भएपछि अहिले आयोजकले विज्ञापन सुरु गरेको हो । 

ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङका अनुसार काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा हजारभन्दा धेरै दर्शक सहभागी हुनेछन् । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि बढी परिचित भएकाले ५० हजारभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरेका छौैं ।”

कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । १५ करोड रुपैयाँ उठ्ने कार्यक्रमबाट सलमानले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासामा गुरुङ भन्छन्, “हाम्रो कम्पनीले यस्ता कार्यक्रम यस अगाडि पनि गरिसकेकाले हाम्रो आफ्नै नियम छ । सोही अनुसार पेमेन्ट गर्छौं । तर, यति नै भनेर भन्नु सायद उचित हुँदैन होला ।”

१५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् ।  कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको गुरुङले जानकारी दिए । “भीआईपी र अशक्तलाई हामी अगाडि राख्नेछौं । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ । कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको हो,” गुरुङले भने ।

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् ।  सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन ।

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् ।

चलचित्र ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा सलमान नेपाल पनि आउन लागेका हुन् । सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउनेछन् । कन्सर्टमा सलमान र सोनाक्षीले एकसाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । सलमानले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । कार्यक्रमको लागि दिउँसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ । तर, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।

हङकङबाट सुरु भएको टुर न्युजिल्यान्ड, अस्ट्रेलिया र भारतमा भइसकेको छ भने अमेरिकामा हुन बाँकी छ ।