काठमाडौं/विवादास्पद बलिउड फिल्म पद्मावतलाई भारतको सर्वोच्च अदालतले देशभर रिलिज गर्ने स्वीकृति दिएको छ । अब यो फिल्म २५ जनवरी ९माघ ११० मा सबै राज्यमा रिलिज हुनेछ ।

भारतीय जनता पार्टीको सरकार रहेको चार राज्यमा पद्मावतलाई रिलिज गर्न नदिने निर्णय भएको थियो । सर्वोच्च अदालतले मध्य प्रदेश, हरियाणा, राजस्थान र गुजरात सरकारको निर्णयलाई रोक्का गरिदिएको छ ।

यसअघि पनि सर्वोच्च अदालतले फिल्मको प्रदर्शनमा रोक लगाउने प्रयास विफल बनाइदिएको थियो । यस फिल्ममा दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको प्रमुख भूमिका छ ।

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्मलाई राजपूत संगठनहरूले विरोध गरिरहेका छन् । फिल्मले राजपूतहरूको इतिहासलाई बंग्याएर प्रस्तुत गरेको उनीहरूको आरोप छ ।

फिल्मको कथा १३औं शताब्दीमा मेवाडका महाराज रतन सिंह र उनको सेना तथा दिल्लीका सुल्तान अलाउद्दीन खिलजीका बीच भएको ऐतिहासिक युद्धमा आधारित छ ।

फिल्मको सेटमा दुईचोटि तोडफोड भएको थियो अनि भन्सालीमाथि करणी सेनाका मानिसले हातपात गरेका थिए ।

एजेन्सी