मुम्बई/ शिल्पा सिन्दे ‘बिगबोस सिजन ११’ की विजेता बनेकी छन्। कलर्स च्यानलमा सञ्चालित रियालिटी सोमा आइतबार उनलाई यो सिजनको उपाधि प्रदान गरिएको हो। शिल्पाले विजेता बनेर ट्रफीको साथमा ४४ लाख रुपैयाँको पुरस्कार पनि प्राप्त गरिन्। ट्रफी लिने समयमा शिल्पाको साथमा उनकी आमा पनि थिइन्। सलमान खानद्वारा होस्ट गरिएको ‘बिगबोस’ को सिजन ११ मा हिना खान उपविजेता बनिन्। बलिउड अभिनेता अक्षय कुमारले विजेताको नाम घोषणा गरेका थिए।

बिगबोसमा पाँचौं पटक महिला सदस्य च्याम्पियन बनेर घरबाट बाहिर आउन सफल भएका छन्। शिल्पा तिनै महिला हुन् जो टोलिभिजनको पर्दामा आउने मनोरञ्जनात्क कार्यक्रम ‘भाभी जी घर पर हैं’ बाट लोकप्रिय बनेकी थिइन्। यही कार्यक्रमपछि उनी चर्चामा आइन् र बिगबोसको घरमा प्रवेश पाइन्।

शिल्पा र हिनाको बीचमा कडा प्रतिस्पर्धा थियो। शिल्पालाई सबैभन्दा धेरै दर्शकको भोट प्राप्त भयो।बिगबोसको घरबाट पहिले मनीष बाहिरिए। त्यसपछि दर्शकले थोरै भोट दिएका कारण दिल्लीका विकास गुप्ता घरबाट बेघर बने। यसरी अन्तिम प्रतिस्पर्धा बिगबोसकी आमा शिल्पा र ड्रामा क्विन हिनाबीच भयो। शिल्पालाई उनको व्यवहारका कारण दर्शकले सबैभन्दा बढी भोट दिए।

शिल्पा टेलिभिजनकी अभिनेत्री हुन्। सन् १९९९ मा उनी टेलिभिजनमा पदार्पण गरेकी हुन्। स्टार प्लसको धारावाहिक भाभी (२००२-०८) मा नकारात्मक भूमिका निर्वाह गर्दै उनी चर्चामा आइन्। यसपछि स्टार प्लसको अर्को धारावाहिक ‘कभी आये ना जुदाई’ (२००१-०३) मा अभिनय गरिन्। ‘सञ्जीवनी’ (२००२-०५) र ऐतिहासिक नाटक ‘आम्रपाली’ (२००२) मा उनले निर्वाह गरेको भूमिकाले टेलिभिजन उद्योगमा उनको स्थिति बलियो बनायो। शिल्पाले दुई तेलुगु फिल्म ‘छिन्ना’ र ‘शिवानी’ मा पनि काम गरेकी छन्