अन्ततः निर्देशक सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावत’ (पद्मावती)को आधिकारिक प्रदर्शन मिति घोषणा भएको छ । अब यो फिल्म २५ जनवरीमा अक्षय कुमार अभिनीत फिल्म 'प्याडम्यान'सँग भिडन्त गर्नेछ । निर्माण टीमले एक पोस्टर सार्वजनिक गर्दै ‘पद्मावत’ २५ जनवरीबाट प्रदर्शनमा आउने जानकारी दिएको छ ।

१ डिसेम्बरबाट रिलिज पोस्टपोड भएपछि केही दिन सञ्जय लीला भंसालीको यो फिल्मको प्रदर्शन मितिलाई लिएर विभिन्न खबर बाहिर आएका थिए । केहीले यो फिल्म २५ जनवरीमा रिलिज हुने अनुमान लगाएका थिए त कतिले अनुष्‍का शर्माको फिल्‍म 'परी'सँग ९ फेव्रअरीमा महासंग्राम हुने अडकल काटेका थिए ।

सञ्जय लीला भंसालीको यो फिल्ममा दीपिका पादुकोण मुख्य भूमिकामा छिन् । यस्तै, शाहिद कपूर महारावल रतन सिंहको भूमिकामा र रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा देखिनेछन् ।

‘पद्मावत’ आफ्नो फिल्म 'प्याडम्यान'सँग भिड्ने भएपनि अक्षय कुमारलाई विश्वास छ कि विदाका कारण दुवै फिल्मको विजनेश राम्रो हुनेछ ।

हालैमा अक्षय कुमारले मिडियासँगको कुराकानीमा भने, ‘यो स्पर्धाको कुरा होइन, यो ठूलो दिन हो । यसकारण यो मितिमा धेरै फिल्म रिलिज हुन सक्छन् । 'प्याडम्यान'ले बक्स अफिसमा कस्तो कलेक्सन गर्‍यो भन्ने कुराले मलाई खासै ठूलो अर्थ राख्दैन । मात्र फिल्म हेर्ने दर्शकले राम्रो भनिदिए पुग्छ ।’