शनिश्चरे, मोरङ । झापाको दमकमा विहीबारबाट १ नम्बर प्रदेश स्तरीय औधोगिक ब्यापार एवं कृषि पर्यटन महोत्सव सुरु भएको छ ।

व्यवसायिक हित कोषको बृद्धि र इलम प्रशिक्षण केन्द्र व्यवस्थित गर्न दमक उद्योग बाणिज्य संघको आयोजनामा माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबीच झापा ५ का प्रदेशसभा सांसद अर्जुन राईले उद्घाटन् गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड कारणवस आउन नसकेपछि महोत्सवको उद्घाटन्को जिम्मा सांसद राईलाई प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद राईले यो महोत्सव प्रादेशिक संरचनापछिको १ नम्बर प्रदेशको पहिलो महोत्सवका रुपमा रहेको जनाउँदै यसले प्रदेशकै आर्थिक सक्रियतामा विशेष महत्व राख्ने बताए ।

सो अवसरमा बोल्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा बन्ने संसारको अग्लो बुद्धमूर्ति, औधोगिक पार्क, भ्यू टावर जस्ता योजनाले दमक चर्चित बनेको जनाउदै यो महोत्सवले ती कुराहरुको अझ प्रचार प्रसार गराएर दमकलाई नयाँ परिचय दिलाउन सकिने समेत प्रष्ट्याए । यो सँगसँगै दमकको औधोगिक पहिचानलाई पनि यसले बिस्तार गर्ने उनको भनाई छ ।

दमकको रेडक्रस भवन उत्तर रतुवा खोला किनारमा आयोजित महोत्सवमा उपकरण, कृषि उपज, पोशाक सहित विभिन्न प्रकारका सरसामानका १ सय ५३ वटा स्टल रहेको महोत्सव ब्यवस्थापन समितिका संयोजक राजन दंगालले बताए । साँस्कृतिक तथा मौलिक पहिचान बोकेका स्टलहरु निशुल्क उपलब्ध गराइएको समेत उनले जनाए ।

महोत्सवको यसपटकको फरक आकर्षक रुपमा उँट तथा घोडा सवार रहेको छ । त्यसका साथै दमक र आसपास तथा ताप्लेजुङको पाथीभरा मन्दिरसम्मका लागि दमकबाट हेलिकोप्टर उडान समेत हुनेछ । हुस्सु लागेका कारण विहीवारबाट हेलिकोप्टर उडानको कार्यक्रम भनें हुन सकेन । दमक र आसपासको ७ किलोमिटर क्षेत्रको उडानका लागि प्रतिव्यक्ति ५ हजार ५ सय तथा पाथीभरा आवत जावतका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ भाडादर तोकिएको छ ।

महोत्सवमा चर्चित राष्ट्यि कलाकारहरुको समेतको दैनिक सांगीतिक तथा सांस्कृतिक कार्यक्रम रहने छ । विहीवार चर्चित हांस्यकलाकार विल्सनविक्रम राई ( तक्मेबुढा) को प्रस्तुति रहेको छ । शुक्रबार जितु नेपालको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक विमल नेपालले जनाए । विल्सन, जितुका साथै गायक सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, कमल खत्री, गायक तथा हांस्यकलाकार राजा राजेन्द्र, गायिका ज्योति मगर सहितका राष्ट्यिस्तरका कलाकारका साथै स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने उनले सुनाए । महोत्सवबाट करिव २० लाख रुपैयाँ वचत गर्ने लक्ष्य राखिएको वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले वताए । ९ बर्षपछि वाणिज्य संघले महोत्सवलाइ निरन्तरता दिएको हो ।

महोत्सवमा मदिरा निषेध गरिएको छ । यो पटक प्रमुख प्रायोजक समेत मदिरा तथा मदिराका उद्योगहरुलाइ नबनाइएको महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं प्रथम उपाध्यक्ष गोपाल गुरागाइले जनाए ।