काठमाडौँ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा आज साँझ निर्माण सामग्री बोकेका दश वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

अनुगमन अधिकृत निरज घिमिरेका अनुसार केही दिन अघि सिमेन्ट र छडको मूल्यवृद्धि भएपछि विभागले निर्माण सामग्रीको कालोबजारी भएको भन्दै अनुगमन तीव्र बनाएको हो । विभागले हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रकलाई धादिङको धार्केमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाहीको प्रक्रिया अघि बढाइने छ ।

चाडवाडका समयमा काठमाडौँ उपत्यकामा मात्र सीमित रही अनुगमन गरिरहेको विभागले पछिल्लो समय बजार व्यवस्थापन गर्ने क्रममा देशको विभिन्न स्थानमा गएर अनुगमन गरिरहेको छ ।