थाइल्याण्डमा अध्ययनरत जेठी छोरी पूर्णिका शाहलाई पुर्‍याउन पूर्व युवराज्ञी हिमानी शाह शुक्रबार दिउसो ब्याङ्कक प्रस्थान गरेकी छन्।

सुरुमा छोरी पुर्‍याएर २–३ दिनमै नेपाल फर्कने योजनामा रहेपनि उनी झण्डै दुई हप्ता ब्याङ्ककमा रहने स्रोतहरुले बताएका छन्।

उनलाई छोरा हृदयेन्द्र र छोरी कृतिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे। उनलाई विदाईका लागि बसन्तपुरस्थित मख्खन मन्दिरका पुजारी राजन महर्जनले टीका र माला लगाएरविदाई गरे।

पूर्व राजारानीसँगै मध्य तथा सुदुर पश्चिमको भ्रमणका लागि निस्केकी हिमानी छोरीलाई ब्याङ्कक पुर्‍याउनकै लागि बुधबार नेपालगञ्जबाट काठमाडौं फर्केकी थिइन्। सुरुमा शुक्रबार ब्याङ्कक गएर सोमबार नेपाल फर्कने उनको योजना थियो।

तर, अब उनी दुई हप्ता ब्याङ्ककमा छोरीसँगै रहनेछन्। त्यसअवधिमा किनमेल, छोरीको व्यवस्थापन लगायतका काममा उनी लाग्नेछिन्।

१२ दिन ब्याङकमा रहने उनी ३ माघमा मात्र काठमाडौं फर्कने योजना रहेको निर्मल निवास स्रोतले बतायो।