काठमाडौं/कञ्चनपुरको वेदकोट नगरपालिका–४ मा पर्ने बैतडा गाउँका एक दलित दम्पतिको घाँटी रेटेर हत्या गर्ने प्रयास भएको छ ।
बिहीबार राति बैतडाका ४० वर्षिय अपांगता भएका गोविन्द लुहार र उनकी पत्नी सरस्वती लुहारको धारिलो हतियारले घाँटी रेटेर हत्याको प्रयास भएको हो । लुहार दम्पतिको नचिनेको व्यक्तिले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिएका छन् ।
मेयर चन्दका अनुसार घरभित्र सुतेकै अवस्थामा घाँटी रेटिएका लुहार दम्पतिलाई अचेत अवस्थामा उपचारका लागि सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको थियो । अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल ‘रेफर’ गरिएको छ ।
बेदकोट नगरपालिकाले लुहार दम्पतीलाई उपचारका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको पनि मेयर चन्दले जानकारी दिएका छन् । उनले लुहार दम्पती हत्या प्रयासमा संलग्न व्यक्तिको खोजी गरेर कारवाही गर्न पनि माग गरेका छन् ।