सर्लाही प्रहरीले चोरी गरिएका ७ ओटा मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाटोलका १८ वर्षीय मोहम्मद मजिद रहेका छन् । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानबाट चोरी गरिएको मोटरसाइकलसहित मजिदलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका मजिदलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी थापाकाअनुसार बा८ प ७८४६, ना२८प ७२७८, लु२प ९८६२, बीआर३०जे ४९६४, बीआर३०के ९७४५, बीआर०६एइ १५०८ र कालो रङको १५० सीसीको एउटा ‘अनटेस्ट’ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको हो ।
बरामद गरिएको मोटरसाइकल सवारीधनी कागजपत्रसहित सवारी दाबी गर्न आए जिम्मा लगाइने र सवारीधनी नआएको खन्डमा भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।