इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष चारको होडमा रहेको आर्सनल बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा आर्सनल वेष्ट ब्रोमसँग १–१ को बराबरी रोकिएको हो । आर्सनल बराबरीमा रोकिए पनि उसले गोल भने गरेन । आर्सनलका लागि पनि वेष्ट ब्रोमका खेलाडीले गोल (आत्मघाती) गरेका हुन् । खेलको अन्तिम ७ मिनेट बाँकी हुने बेलासम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन । तर ८३ औँ मिनेटमा वेष्ट ब्रोमका जेम्स म्याकक्लिनले आत्मघाती गोल गरेर आर्सनललाई अग्रता दिलाए । आर्सनलका एलेक्स सान्चेजले प्रहार गरेको फ्रि–किक बल क्लियर गर्ने क्रममा म्याकक्लिनले आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसको ६ मिनेटपछि पाएको पेनाल्टीमा जे रोड्रिग्वेजले वेष्ट ब्रोमका लागि बराबरी गोल गरे । बराबरीपछि पाँचौँ स्थानमा उक्लिएको आर्सनलको २१ खेलबाट ३८ अंक भएको छ । छैटौँ स्थानमा झरेको टोटनह्यामको ३७ अंक रहेको छ । आर्सनललाई बराबरीमा रोकेको वेष्ट ब्रोम पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । उसको २१ खेलबाट १६ अंक भएको छ ।