धरान/छैठौं भेडेटार फुड फेष्टिबल आइतबारबाट शुरु भएको छ । फुड फेष्टिभलमा २८ वटा स्टलहरु छन् । जहाँ विभिन्न जातीय परिकारहरु उपलब्ध छन् ।
[caption id="attachment_67310" align="alignnone" width="1024"]

तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
त्यस्तै घरेलु, तथा हस्तकलाका सामाग्री, फूल नर्सरीलगायतको स्टलहरु राखिएका छन् । तीनदिनसम्म चल्ने फेष्टिभलको उद्घाट्न धनकुटाका प्रतिनिधि सभाका सदस्य सांसद राजेन्द्र राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, आयोजक होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटनका क्रममा पत्रकार सन्तोष काफ्लेलाई नगद ५ हजार रुपैयासहित सम्मान पत्रले पुरस्कृत गरिएको छ भने भेडेटारका समाजसेवी कुलबहादुर लिम्बूलाई सम्मानित गरिएको छ । पर्यटन प्रवद्र्धनमा उच्च योगदान पुर्याएको भन्दै पत्रकार काफ्लेलाई सम्मानित गरिएको अध्यक्ष लावतीले बताए ।
धनकुटाको भेडेटार क्षेत्रमा ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले फुड फेष्टिभलको आयोजना गरिएको सचिव जितेन्द्र रुम्दालीले बताए । भेडेटारमा क्षेत्रमा पाइने फलफूल तथा कन्दमूलहरु पनि स्टलमा सजाइएको छ । तीन दिनमा साँस्कृतिक कार्यक्रमसँगै राष्ट्रिय कलाकारहरुले पनि कार्यक्रमलाई थप रौनकता प्रदान गर्ने सचिव रुम्दालीले बताए ।
गायक राजेशपायल राईको प्रस्तुतीसहित मगर जातिको साँस्कृतिक नृत्य हुर्रा, राईको साकेला र लिम्बूको ढोल नाच (धान नाँच) पनि नाचिने सल्लाहरकार सदस्य कुलप्रसाद लिम्बूले बताए । ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको फेष्टिबलमा करिव २५ लाख रुपैयाको हाराहारीमा कारोबार गर्ने लक्ष्य लिएको छ । भारतीय पर्यटकहरु मात्रै ५ हजारको हाराहारीमा आइपुग्ने आयोजकले अनुमान गरेको छ ।
भेडेटारमा झण्डै ५० को हाराहारीमा साना होटलहरु छन् भने ४५ वटा ठूला होटलहरु रहेका छन् । धरानदेखि १८ किलोमिटर उत्तरमा रहेको भेडेटार धनकुटा र धरानको सीमानासमेत हो । बाह्रै महिना चिसो हुने कारण पनि भेडेटार पर्यटकहरुको लागि रोजाईको केन्द्र हुने गरेको छ ।