
धनकुटा/अंग्रेजी नयाँ वर्ष सन् २०१८ को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा छैटौं फुड फेस्टिवल (खानपान महोत्सव) यो वर्ष पनि भव्य रुपमा हुने भएको छ । साथै खानपान महोत्सवको लागी सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको छैटौंं फुड फेस्टिबल तथा खानपान महोत्सव–०७४ को लागि आवश्यक तयारी पुरा गरिएको होटल एशोसिएसन भेडेटार धनकुटाले जानकारी दिएको छ । होटल एशोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार आउँदो पौष १६, १७ र १८ गते तीन दिनसम्म हुने फुड फेस्टिवल तथा खानपान महोत्सवमा पर्यटकहरुलाई खाना र बस्नको लागि भेडेटारमा रहेका सम्पुर्ण होटलहरुले जम्मा हिसावमा १५ प्रतिशत विशेष छुटको अफर समेत दिइएकोे वताएका छन् ।
यस पटकको नयाँ वर्षको अवसरमा आयोजना हुने फुड फेष्टवलमा प्याराग्लाईडिङ, साईक्लिङ्ग र र्याफ्टिङ्गको विशेष आकर्षण हुनेछ । प्याराग्लाईडिमा एक जना वरावर ७ हजार लाग्नेमा महोत्सवभरीलाई २० प्रतिशत छुट गरीएको होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले वताएका छन् । र्याफ्टीङ सेवा र प्याराग्लाईडिङ्ग सेवा पर्यटकहरुलाई धुमाउनको लागि भेडेटार आसपासको क्षेत्रहरु नाम्जे, ध्वजेडाँडाको सनराईज, राजारानी ताल, जेफाले भ्यु–टावर र तमोर नदीमा फिक्सिङ्ग गर्न जान सचिवालयले प्याकेज कार्यक्रम समेत तयार गरिएको अध्यक्ष लावतीले बताएका छन् । उनले दुरी हेरेर एक जनालाई एक रात होम स्टेमा वसाएर रानीताल अवलोकन र ध्वजे डाँडाको सनराईजको दृश्य अवलोकन गराएर पुनः भेडेटारमा आउनलाई ४ हजार रुपयाँको प्याकेज कार्यक्रम आयोजना गरिएको वताएका छन् ।
फुड फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादीत तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा फुड फेष्टिबलको आकर्षण रहने छ । २५ देखी ३० हजार आन्तरिक तथा वाह्रय पर्यटकहरु भित्राउने योजना सहित सुरु गरिएको फेस्टिवलमा १ करोड बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको होटल एशोसियसनका सचिव जितेन्द्र राईले बताएका छन् । सो फुड फेस्टिबलमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, गरिमा डान्स सेन्टर धरान र स्थानीय स्तरका कलाकारहरुको गीत तथा नृत्यहरुको वेजोड प्रस्तुती समेत रहने जनाइएको छ ।
भेडेटारमा यो वर्ष आयोजना हुने फुड फेस्टिवलको स्थल भेडेटार चोक देखी काम्फेकसम्म हुने वताइएको छ । महोत्सवको लागी २१ वटा सपिङ कम्प्लेक्स पनि तयारी भै सकेको आयोजकले जनाएको छ । आयोजकले आर्थिक तथा सामाजिक उत्थानको लागी पर्यटन, होटल व्यवसाय, होमस्टे, अन्य व्यवसाय, कृषि, साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले फुड फेस्टिवल हरेक वर्ष आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका सल्लाहकार नरवहादुर चेम्जोङ्गले वताएका छन् । भेडेटारमा आउने हजारौं पर्यटकहरुको लागी यो वर्ष होटलवासको लागी रामूो व्यवस्था गरिएको पनि उनले वताएका छन् ।
फुड फेस्टिबलमा आउने पर्यटकहरुले नजिकैको क्षेत्रहरु भेडेटार गाविस भित्र रहेको साँगुरी यक, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, सिएननको सर्वेक्षणमा विश्वको १२ औं गन्तव्यको रुपमा लिएको विश्व चर्चित नाम्जेवजार, नमस्ते झर्ना (सिम्सुवा), शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, थाउजेण्ड विग वुद्ध, ओख्रे भ्यूटावार,अजंगको वरको रुख, सुर्यद्धय बौद्धविहार गुम्बा लगायतका ठाउँमा घुमफिर गर्न सकिने वताइएको छ । त्यस्तै गरी मगर, लिम्बु, राई, याम्फु, तामाङ र याखा जातिको साँस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् ।
भेडेटार होटल एशोसिएनको मुल आयोजनामा हुने सो फेस्टिवलको लागि यो वर्ष सह–आयोजकमा नेष्ट भेडेटार, भेडेटार आमा समुह,पाथिभरा क्लव र लाईन्स क्लव भेडेटार रहेका छन् । त्यसैगरी सहयोगीमा साँगुरी गढी गाउँपालिका, मुख्य प्रायोजकमा गोर्खा व्रुअरी, सह–प्रायोजकमा हिमालयन र प्रवद्र्धकमा नेपाल पर्यटनवोर्ड काठमाण्डौं रहेको भेडेटार एशोसिएसनका अध्यक्ष लिलाराज लावतीले वताएका छन् । उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि धनकुटावाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले गर्ने पनि उनले वताएका छन् ।