शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म 'टाइगर जिन्दा हे'ले बक्स अफिसमा रेकर्डतोड कलेक्सन गरिरहँदा आज बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले 'प्रेम', 'सल्लू भाई', 'भाईजान', 'सुल्तान' जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हुन्, जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।

अध्ययन 

सलमान खानको अध्ययन सिन्धिया स्कूल, ग्वालियरबाट भएको थियोे, जहाँ उनी आफ्नो भाई अरबाज खानसँग पढ्ने गर्थे । यसपछि उनले बाँकीको अध्ययन मुम्बर्इको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाईस्कूलबाट गरेका थिए ।

करिअर

सलमान खानले आफ्नो करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका थिए । उनको डेब्यू फिल्म 'बीवी हो तो ऐसी' थियो । 'मैंने प्यार किया'मा उनले पहिलो पटक मुख्य भूमिकामा काम गरे, जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । उनको फिल्म 'हम आपके हैं कौन'ले सबैको दिल जित्यो भने फिल्म 'तेरे नाम'मा उनको अभिनयको सर्वत्र तारिफ भयो र आफ्नो अभिनयबाट उनले सबैलाई भावुक बनाए ।

यसपछि उनले कयौं फिल्ममा काम गरे तर पछिल्लो समय उनका प्रत्येक एक्सन फिल्मलाई दर्शकले खुब रुचाउँदै आएका छन् । फिल्म 'वान्टेड'पछि उनले लगातार बलिउडमा हिट फिल्मको झण्डा गाढेका छन् ।

सुपरहिट फिल्म

'मैंने प्यार किया', 'पत्थझर के फूल', 'साजन', 'अन्दाज अपना अपना', 'हम आपके हैं कौन', 'करन अर्जुन', 'खामोशी', 'जुडवा', 'प्यार किया तो डरना क्या ', 'बन्धन', 'बीवी नं १', 'हम दिल दे चुके सनम', 'हम साथ साथ हैं', 'दुल्हन हम ले जाएंगें', 'तेरे नाम', 'गर्व', 'मुझसे शादी करोगी', 'नो इन्ट्री', 'क्योंकि', 'पार्टनर', 'दबंग', 'बडीगार्ड', 'एक था टाइगर', 'दबंग २', 'कि‍क', 'सुल्तान', 'बजरंगी भाईजान' र 'प्रेम रतन धन पायो'बाट सलमान इन्डष्ट्रिमा सुपरहिट भए ।