मोरङ/ ग्रामीण क्षेत्रमा नाट्य कलाकारिताको विकाश र प्रवद्र्धनमा दक्षिणी इलामको चुलाचुलीमा क्रियाशिल चुलाचुली रंगमञ्चले आफ्नो पाँचौं वार्षिक उत्सव सम्पन्न गरेको छ । पूर्वाञ्चलका प्रसिद्ध कलाकार, साहित्यकार र पत्रकारको उपस्थितमा भएको उत्सवमा श्रष्ठाहरुले रचना वाचन गरेका छन् ।

चर्चित कलाकार हेमन्त बुडाथोकीको उपस्थित समेत रहेको कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, स्थानीय बुद्धिजीवी तथा समाजसेवी सुवास आङथुपो, राजेन्द्र केरूङ, कालिदास भट्टराई, सेतुप्रकाश राई, विनोद तिम्सिना, सन्तोस दुलाल लगायतले रंगमञ्चको थप प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

चुलाचुली रंगमञ्चका अध्यक्ष मनहाङ लावतीको अध्यक्षता शुक्रबार सम्पन्न कार्यक्रममा कृति अनलाइनको अग्रसरतामा स्रष्ठाहरु विवशवलिभद्र कोइराला, सुन्दर कुरुप, लोकेन्द्र वञ्जारा, मेची पुत्र, राजकुमार सुब्बा, मौलश्री लिम्बु, चेतन डर, नवीन प्राचीन, सविन राई, मदन चौहान लागायतले रचना वाचन गरेका छन्  । रंगमञ्चको गतिविधिलाई थप सक्रियता वढाउने क्रममा चुलाचुली रंगमञ्चले आगामी माघ २ गते काठमण्डौको मण्डला थिएटरको चर्चित नाटक “सरजमिन“  चुलाचुलीको सामुदायिक कवर्ड हलमा मञ्चन  गर्न लागेको सहजकर्ता चेतन आङथापोले बताए । चुलाचुली रंगमञ्चमले दुई दर्जनबढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक प्रर्दशन गर्नुका साथै रंगमञ्चबाट क्षेत्रीय र राष्ट्रियस्तरका नाटक महोत्सवमा सहभागिता जनाइसकेको उनले उल्लेख गरे । जसमध्ये ‘देवाङसी राजा–२०७३’ ‘सुवीउ चरी–२०७१’ ‘किपट–२०७०’ ‘खाल्डो–२०७४’ नामक नाटक वढी चर्चामा छन् । २०६५ सालबाट नाटक यात्रा थालेका नयाँ बाटो नयाँ पाइला नाट्य समूहले ४ बर्षपछि ‘विश्वव्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी’ नारा सहित  चुलाचुली रंगमञ्च नाममा वैधानिकता रूपमा स्थापना भएको पाँच बर्षपछि चुलाचुली रंगमञ्चले आफ्नो बार्षिकउत्सव मनाएको हो ।