इटहरी/ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा देश भरीबाट वाम गठबन्धनले दुई तिहाई नजिक मत परिणाम पाउँदै गर्दा सुनसरीमा भने नेपाली कांग्रेसले राम्रो उपस्थिती देखाएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधी सभामा क्षेत्र नम्वर २ बाट सिताराम मेहेता वाम गठबन्धनका हिमाल सुवेदी (डम्वर)लाई पराजित गर्दै विजयी भएका हुन् । मेहताले ४१ हजार ४ सय ९५ मत पाउँदा सुवेदीले ३५ हजार ३ सय ४९ म प्राप्त गरे ।
यस्तै क्षेत्र नम्वर ४ बाट वहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम गठबन्धनका रमेश श्रेष्ठलाई पराजित गर्दै संस्थापक नेताको विरासत जोगाउन सफल भए । कार्कीले ३२ हजार ३ सय ४७ मत पाउँदा श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । क्षेत्र नम्वर ३ मा विजयकुमार गच्छदार वाम गठबन्धनकी भगवती चौधरीसँग कडा प्रतिष्पर्धामा छन् ।
सो क्षेत्रको मतगणना सोमबार विवादका कारण रोकिएको थियो । प्रदेश नम्वर १ मा भने वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधी सदस्य नै जितेको छ । प्रतिनिधी सभामा जयकुमार राई ४४ हजार २ सय ५८ मत पाउँदा लोकतान्त्रिक गठबन्धनका अशोक राई २२ हजार १ सय २३ मतमा रोकिए ।
कांग्रेसका संस्थापक वी पी कोइरालाहुँदै गिरिजा प्रसाद कोइरालाको विरासत जोगाउन क्षेत्र नम्वर ४ बाट कार्की सफल भए । २०७० सालमा समेत निर्वाचित भएका मेहेताले क्षेत्र नम्वर २ बाट जित दोहोर्याए । प्रदेश तर्फ पनि क्षेत्र नम्वर १ बाहेकका अन्य क्षेत्रमा नेपाली काँग्रेसले उपस्थिती जनाएको छ ।
क्षेत्र नम्वर २ ‘ख’ मा काँग्रेस सुनसरी जिल्ला सभापति समेत रहेका राजिव कोइरालाले वाम गठबन्धनका रामप्रसाद मेहेतालाई पराजित गरे । सुनसरी क्षेत्र नम्वर ३ मा पनि वामगठबन्धनका रामदेव मेहेतालाई नेपाली काँग्रेसका अगमलाल चौधरीले पराजित गर्दै काँग्रेसको साख जोगाएका छन् ।