मोरङ /नेकपा एमालेका पोलिटव्यूरो सदस्य भानुभक्त ढकालले वाम गठवन्धनको लहरले कांग्रेसले आफ्नो विरासत गुमाउन लागेपछि गठवन्धनको भोट बदर गराउने अभियानमा लागेको आरोप लगाएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ का वाम गठवन्धनका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका ढकालले मंगलबार पथरीशनिश्चरेको बुद्धचोकमा आयोजित कोणसभामा बोल्दै त्यस्तो आरोप लगाएका हुन् । कांग्रेसले हार्ने अवस्था देखेपछि एउटै उम्मेदवारका लागि सूर्य र हँसिया हथौडा दुवै चुनाव चिन्हमा भोट हालेर मत बदर गराउने भित्री योजना बनाएर गाउँ गाउँमा लागेको बुझिएकाले त्यसबाट सचेत रहनु पर्ने उनले बताए । अर्कातर्फ, वाम गठवन्धनको सरकार वन्दा धर्ममाथि विभेद हुन्छ भन्ने प्रचार गरिएको कुरा निराधार रहेको उनले उल्लेख गरे । उनले कुनै धर्ममाथि विभेद नहुने जनाउँदै राज्यको धार्मिक निरपेक्षता र व्यक्तिको धार्मिक स्वतन्त्रताको कुरा ग्यारेन्टी हुने बताए ।

पथरीशनिश्चरे १ र २ नम्वर वडाको घरदैलो कार्यक्रम अन्तर्गतको कोणसभामा प्रदेश क बाट माओवादीतर्फकी उम्मेदवार गीता तिम्सिनाले क्षेत्र र समग्र देशको उन्नतीका लागि वाम गठवन्धनको पक्षमा लहर सिर्जना भएको जनाइन् । करिव १ हजार ५ सयको संख्यामा सहभागि नेता कार्यकर्ताको नाचगान सहितको र्यालीले १ नम्बरको पथरी बजार क्षेत्र र वडा नम्बर २ का विभिन्न ठाउँ परिक्रमा गरेको छ । कार्यक्रममा जनवादी गायक वीरध्वज शिवाले वाम गठवन्धनको गीत प्रस्तुत गरेका छन् । सो अवसरमा, बेलबारी ४ का नेपाली कांग्रेसमा क्रियाशिल पुराना कार्यकर्ता देवराज घिमिरे सहित ८ जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

कार्यक्रममा ०३६ सालदेखि कांग्रेसका क्रियाशिल ३ नम्बर क्षेत्रीय प्रतिनिधि घिमिरेलाई सो क्षेत्रका वाम गठवन्धनका प्रतिनिधिसभाका उम्मेदवार ढकालले टीका र माला लगाएर वाम गठवन्धनमा प्रवेश गराएका छन् । कांग्रेसका सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्माको बेलबारी घरको छिमेकीका रुपमा रहेका आफुले कांग्रेसभित्र र शर्माभित्र निष्ठावान राजनीतिको ठाउँ नपाएको बुझेर सो पार्टी परित्याग गरेको उनले आरोप लगाए । कांग्रेसमा सक्रिय सुन्दरहरैंचाकी कमला मास्केका साथै सोही ठाउँका सीता कार्की, राजन राई, सुनील मगर, दीपा रोक्का, लोकेन्द्र विक, कृष्ण राय र हिमबहादुर राय पनि वाम गठवन्धनमा प्रवेश गरेका छन् । त्यसअघि, वाम गठवन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको पथरीस्थित कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ढकालले पथरीशनिश्चरेमा कांग्रेस पक्षले आफुले गुण्डागर्दी गरेर वाम गठवन्धनलाई गुण्डागर्दी गरेको निराधार आरोप लगाएको बताए ।

ढकालले कांग्रेसका धनकुमार तामाङले वाटोमा हिँडिरहेका वाम गठवन्धनका युवाहरु वेद साम्पाङ र भीम रसाइलीलाई बोलाएर गालीगलौच गर्दै हातपात गरेको घटनालाई कांग्रेसले लाज पचाएर उल्टो दोषारोपण गरेको टिप्पणी गरेका छन् । मंसिर ९ गते रातीको सो घटनापछि पक्राउ परेका रसाइलीलाई कांग्रेस पक्षले मुद्धा लगाउन खोजेको अवस्थामा उनीहरु छुटेर आएपछि झुटो कुरा नटिक्ने भन्दै कार्यालयमा कार्यकर्ता भेटघाट सहितको विरोध कार्यक्रम भएको थियो । भेटघाट कार्यक्रममा १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देनको अगुवाईमा तामाङमाथि कुटपिट भएको भनेर कांग्रेसले निकालेको प्रेस विज्ञप्तिप्रति खण्डन गरिएको थियो । यसैबीच, वडाध्यक्ष बाबुराम एङ्देनले एक विज्ञप्ति जारी गरी तामाङसँगको सो दिनको घटनामा आफ्नो कुनै संलग्नता नरहेको र यदि संलग्नता रहेको पुष्टि भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको जनाएका छन् । उनले आफु संलग्न भएको सन्दर्भ जोडेर राजनीतिक आस्थाका आधारमा वडाध्यक्ष पद र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको भन्दै खेद व्यक्त गरेका छन् ।