यही शुक्रवारबाट नायक सौगात मल्ल र नायिका बेनिशा हमाल स्टारर फिल्म ‘झ्यानाकुटी’ देशव्यापी प्रदर्शनमा आउँदैछ । गीत र ट्रेलर नेपाली बजारमा फिल्मको चर्चामा कमी हुन दिएको छैन । यस्तै, ‘झ्यानाकुटी’ले ल्याएको फोटो कन्टेस्टले पनि यतिबेला व्यापक चर्चा पाएको छ । फिल्म युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडि ल्याएको थियो ।

आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।

यो कन्टेस्टले दर्शकलाई मात्र होइन सेलिब्रेटीलाई समेत लोभ्याएको छ । अहिले सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ‘यतिको साथ पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसँगै सहकर्मीले साथ दिँदा निकै खुसी लाग्दो रहेछ’ फिल्ममार्फत निर्माणमा डेब्यु गर्न लागेकी नीशा अधिकारी भन्छिन ’फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ, ढुक्क हुनुहोस् ।’

प्रियंका कार्कीले दीपक राज गिरिलाई, नीता ढुंगानाले श्याम भट्टराईलाई, ऋचा शर्माले अनिल पराजुलीलाई, दिया मास्केले अनोज पाण्डेलाई, बर्षा राउतले संजोग कोइरालाले र रिमा बिश्वकर्माले रविन श्रेष्ठलाई काँधमा बोकेको तश्वीर फेसबुकमा पोष्ट गर्दै झ्यानाकुटीको प्रचारमा साथ दिएका छन् ।

यस्तै, फिल्मले चलचित्र सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । ‘फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छन ’फिल्म गरेपछि आफ्नै गाउँघरको कथा फिल गर्नु हुनेछ ।’ फिल्म निर्माणमा नीशालाई सिमोसले पनि सहयोग गरेका छन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।