भद्रपुर । झापा क्षेत्र नम्बर ३ को चुनावी प्रचारप्रसारलाई तिव्र बनाउन वाम गठबन्धनले ५ हजार ५ सय ५५ सदस्यसहितको क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा बिच भएको वाम गठबन्धनले झापाको हल्दिवारी गाँउपालिकामा आयोजित एक भेलाले नेकपा एमालेका पुष्पराज पोखरेलको अध्यक्षतामा क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । एमालेसहित माओवादी र राप्रपाका सदस्यहरुलाई समितिमा राखिएको जनाइएको छ । त्यस्तै राप्रपा क्षेत्रीय अध्यक्ष नवराज पनेरूको अध्यक्षतामा आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिको सदस्यद्धयमा याम श्रेष्ठ र भानु दङ्गाल रहेका छन् । निर्वाचन संयोजन समितिका अध्यक्ष लक्ष्मण पाठकको अध्यक्षतामा भेला सम्पन्न हुनुका साथै वाम गठबन्धनलाई यस क्षेत्रमा जिताउने चुनावी रणनीतिकको बारेमा पनि छलफल भएको थियो । त्यस्तै सो गठबन्धनले वडास्तरीय प्रचारप्रसार समिति पनि गठन गर्न थालेका छन् । भद्रपुर ८ मा महेन्द्र खतिवडाको संयोजनमा २ सय ५१ प्रचारप्रसार समिति गठन गरेको हो । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन, क्षेत्र (क) प्रदेशसभा सदस्यतर्फ बसन्त बानियाँ र क्षेत्र (ख) प्रदेशसभा सदस्यतर्फ पूर्णसिहं राजवंशीले उम्मेदवारी दिएका छन् ।