विराटनगर/ विराटनगर महानगरपालिको क्षेत्रमा सञ्चालन भएको खानेपाने परियोजनामा जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विराटनगर महानगर र जाइकाका प्रतिनिधीहरु बिहीबार भएको छलफल कार्यक्रममा जाइकाले विराटनगरको खानेपानी परियोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा विराटनगर महानगरपालिकाको कार्यबाहक प्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला र इन्जिनियर भरत न्यौपाने लगायतले विराटनगरको खानेपानी समस्याका विषयमा जानकारी गराएका थिए । केहीवर्ष अगाडी खानेपानीका कारण निम्तिएको जन्डिसको समस्या र पुराना पायपका कारण शुद्ध खानेपानी जनताले पिउन नपाएको अवस्थाका बारेमा जाइका टोलीलाई जानकारी गराइएको कार्यबाहक मेयर इन्दिरा कार्कीले बताइन् ।
नेपालमा विशेषत खानेपानीको क्षेत्रमा काम गर्दे आएको जाइकाले नेपालका विभिन्न शहरहरुको खानेपानीको अवस्था अध्ययन र अवलोकन गरीरहेको जनाएको छ । जाइकावाट नेपालका लागी वास एडमाइजर रहेका टाकासी सेकी र जाइकाकी कार्यक्रम अधिकृत विधा पोखरेलले विराटनगरको खानेपानीको समग्र विकास कार्यका लागी सहकार्य गरेर काम गर्न जाइका तयार रहेको धारणा व्यक्त गरेका थिए । सोही टोलीले विराटनगर महानगरको खानेपानी अवस्थाबारे अनुगमन समेत गरेको थियो । कार्यक्रममा नेपाल खानेपानी संस्थान कार्यालयका कामु सहायक प्रबन्धक शैलेन्द्रकुमार साह, वडा नम्बर ८ का वडाध्यक्ष निश्चल अर्याल, प्रशासन महासाखा प्रमुख राजेन्द्र प्रधान लगायतको उपस्थिती रहेको थियो ।