धरान/सामान्य विवादका क्रममा चक्कु प्रहारबाट एक स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
धरान उच्चमा अध्ययरत धरान–१६ का विप्लव पराजुलीको चक्कु प्रहारबाट मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको ३ः५० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
डिएसपी पौडेलका अनुसार चक्कु प्रहार गर्ने सोही स्कुलका विद्यार्थी भारत अररिया जिल्ला जोगवनी गाउँपञ्चायत वडा नम्बर ३ स्थायी घर भई धरान–८ भोटेपुलमा डेरा गरी बस्ने १९ वर्षीय रवि सिंहलाई पक्राउ गरिएको छ । उनले प्रयोग गरेको चक्कु भोटपुलमा रहेको पसलबाट बरामद् गरिएको डिएसपी पौडेले जानकारी दिए ।
पराजुलीको बायाँ छातीको कोखामा चक्कू प्रहार भएको थियो । जसका कारण मुटुमा पुगेको हुन सक्ने अनुमान लगाइएको छ । स्कुलको समयमा अघिल्लो र पछिल्लो बेन्चमा बस्ने ती युवाहरुबीच सामान्य भनाभन भएको र त्यही क्रममा झगडासमेत भएको पाइएको प्रहरीको भनाइ छ ।
झगडाको क्रममा सिंहसमेत सामान्य घाइते बनेका छन् । सिंहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी पौडेलले जानकारी दिए ।