भद्रपुर। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा ३ को चुनावी सरगर्मी बढेर गएको छ । प्रदेश नम्बर १ अन्तरगत पर्ने झापा क्षेत्र नम्बर ३ मा चुनावी प्रचारप्रसारले तिव्रता पाएको हो । प्रेस चौतारी, प्रेस सेन्टर र मिडिया नेपाल झापाको संयुक्त प्रचारप्रसार चुनाव परिचालन समितिले उम्मेदवारको सहभागितामा भद्रपुरमा मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारले आफ्नो धारणा सार्वजानिक गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग झापामा चुनावी तालमेल गरेका राप्रपाले वाम गठबन्धनको तर्फबाट झापा क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन उम्मेदवार बनेका छन् । त्यस्तै वाम गठबन्धनबाटै झापा क्षेत्र ३ (क) बाट एमालेका बसन्त बानिया र (ख) बाट माओवादी केन्द्रका पूर्णसिं राजवंशी चुनावी मैदानमा उत्रिएका छन् । तीन फरक– फरक राजनीतिक दलबाट उठेका उम्मेदवार अहिले एक साथ चुनावी प्रचारप्रसारमा लागि परेका छन् ।
पत्रकार सम्मलेनमा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका महामन्त्री लिङदेनले अहिले सम्म आफूले भष्ट्रचार नगरेको दावी गर्दै यस क्षेत्रमा विजयी भएर कुनै उच्च पद वा मन्त्री भएपनि एक रुपैया भष्ट्रचार नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भष्ट्रचार नगर्ने बिषयमा जुनसुकै मठमन्दिरमा गएर कसम खान आफु तयार रहेको उनले बताए । एउटा सपना र निष्ठाका साथ राजनीतिमा रहेको उल्लेख गर्दै उनले भने– ‘झापा ३ को समृद्धि र विकासका लागि आफुले यो क्षेत्र रोजेको हो ।’ यस क्षेत्रबाट विजयी भएर माथिल्लो तहमा गएका व्यक्तिबाटै यस क्षेत्रलाई पछाडी पार्ने काम भएको छ । अहिले केही योजनाहरु परेपनि यहाँका जनताले कालोपत्रे सडक हेर्न विर्तामोड पुग्ने पर्ने अवस्था पनि नआएको होइनन्, उनले भने । यस क्षेत्रमा बर्षोनी बाढीले डुवान हुने, हात्तीले जनधनको क्षति गर्ने, बिजुली, खानेपानी, शौचालय घर–घरमा नहुदाँ जनतामा पिडा छ, त्यही पिडा हटाउन आफु चुनावमा उठेको उनले बताए ।
काँग्रेसले यस क्षेत्रमा जारी गरेको घोषणापत्र मार्फत पनि जनतालाई ढाड्ने काम गरिरहेको उनले प्रस्टाए । घोषणा पत्रमा उल्लेलित केही कामहरु सरकारको निति तथा बजेट, गाँउ तथा नगरपालिकामा आएको बजेटबाट भइरहेको गतिविधिलाई काँग्रेसले चुनावी एजेन्डा बनाई गलत प्रचार गरिरहेको प्रति उनले आक्रोस व्यक्त गरे । उनले निर्वाचन आचारसंहिताको बारेमा बोल्दै भने– नेपाली काँग्रेसले खुलेआम भौतिक सामग्री वितरण गरेर झापामा आचारसंहिताको ठाडो उल्लघंन गरिरहेका छन् । यसतर्फ निर्वाचन कार्यालयले चासो नदेखाएको प्रति पत्रकार समक्ष गुनासो व्यक्त गरे । त्यस्तै क्षेत्र ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार बसन्त बानियाँले जनताको शिर निहुराउने काम वाम गठबन्धनले नगर्ने बताएका छन् । यस क्षेत्रमा २० बर्षदेखि नभइरहेको काम हामीले पाँच बर्ष भित्र पूरा गर्ने उनले प्रतिवद्धता जाहेर गरे । जनताले मत दिएर जिताएको मत कुनै पनि हालतमा खेर नजाने उनले प्रस्टाए । अन्य क्षेत्र भन्दा फरक प्रकृतिको धेरै चुनौती रहेकोको अवगत गराउँदै ती चुनौतीलाई समाधान गराउन यस क्षेत्रमा वाम गठबन्धनको उम्मेदवारी रहेको उनले उल्लेख गरे । त्यसैगरी ३ नम्बर क्षेत्र (ख) का प्रदेशसभा सदस्य उम्मेदवार राजवंशीले इच्छा शक्ति भए मात्र मुलुक अगाडी बढ्ने धारणा राखेका छन् । ‘नेपाल एउटा कृषि प्रधान देश भनि विश्वमै चिनिएको हो’ त्यसैले किसानलाई आधुनिकीकरण, सौलियत र कृषि उत्पादन हाम्रो उच्च प्रथामिकतामा रहेको छ । ‘उत्पादन नै छैन भने, ‘रोजगारी छैन, ‘रोगजारी छैन भने, मुलुक नै समृद्धि नहुने उनले बताए । मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईको अध्यक्षयता भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तिर्थ सिग्देलले उदेश्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर झापाका संयोजक टीकाराम उप्रेतीले गरेका थिए ।