धरान/धरान–चतरा अन्तर्गत रेल्वे–सर्दुसम्मको ठेक्का पाएको ठेकेदार कम्पनीले निर्धारित मितिमा सडक सम्पन्न नर्गदा रेल्वेवासीहरु दैनिक ‘धुलो’ को सामना गरिरहेका छन् ।
[caption id="attachment_59686" align="alignnone" width="964"]
धरान–चतरा सडक खण्ड अन्तर्गत रेल्वे क्षेत्र । जहाँ दैनिक धुलोका कारण रेल्वेवासीहरु बिरामी पर्न थालेका छन् । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
ठेक्का पाएको साह निर्माण सेवाले निर्माणमा चासो नदेखाउँदा धुलोको सामाना गरिहनु परेको हो । जसबाट प्रत्यक्ष मारमा परेका रेल्वेवासीहरुले ‘बिकल्प’ दिनु पर्ने माग गर्दै सवारी आवागमनमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका छन् । ‘कतिदिन धुलो खाएर बस्ने ?’ रेल्वेका शिव राईले भने, ‘सडकमा ढुंगागिटी ल्याएर थुपारिदिएको छ । त्यसले थप समस्या ल्याएको छ ।’
रेल्वेवासीहरुमा दैनिकजसो धुलोको सामाना गर्दा बिरामीसमेत पर्न थालेका छन् । सडक निर्माण नगरिँदा ज्वरो, स्वासप्रस्वास, रुखामार्कीलगायतका समस्याबाट गुज्रिरहेका छन् । ‘धुलो उडेर बस्नै सकिदैन ।’ स्थानीय ताराबहादुर परियार भन्छन्, ‘सासै लिन गाह्रो हुन थालिसकोँ ।’
डिभिजन सडक कार्यालय विराटनगरका डिभिजन इन्जिनियर दीपेन्द्र चौधरीले उक्त ठेक्का इनरुवाको सुनिल साहद्वारा सञ्चालित साह निर्माण सेवालाई दिएको बताए । तर, उनले लागत स्टिमेट र लम्बाई बारे बताउन सकेनन् । उनले निर्माण सम्पन्न नभएका कारण फोन गर्ने, चिठी लेख्ने र लिखित ताकेता गर्ने कामहरु भइरहेको बताए । ‘धेरै पटक लिखित ताकेता गरिसकेका छौं । मान्छे सम्पर्कमा आउँदैन । अव यसलाई कालो सूचीमा राख्ने हाम्रो कुरा भएको छ ।’ उनले फोनमा भने ।
रेल्वेवासी दैनिक धुलोको शिकार बनेपछि बाध्य भएर सोमबार रेल्वेचोक भन्दा २ सय मिटर मुन्तिर बासको ढाँट लगाउँदै सवारी आवागमन ठप्प पारेका थिए ।
‘धुलोको कारणले गर्दा नै स्वतस्फूर्त बन्द गरिएको हो ।’ वडा अध्यक्ष सूर्यकुमार भट्टराईले भने । धुलो आतङ्क विरुद्ध वडाबासीहरु अध्यक्ष भट्टराईको नेतृत्वमा डिभिजन सडक कार्यालय विराटनगर पुगेका थिए । तर, डिभिजन सडक इन्जिनियर कार्यालयमा नभेटिएपछि उनीहरुले फोनमार्फत् सम्पर्क गरेर तत्काल निर्माण गर्नको लागि दवाव सिर्जना गरेको अध्यक्ष भट्टराईले बताए ।
‘सय मिटर हाम्रो ठेक्कामा हो त्यो हामी गर्छौं भन्यो, अरु चाही बजेट छैन भन्दै थियो । त्यसपछि वडाबासीलाई नै बनाउने गरीको कागज बनाइदिनुस् हामी बनाउछौं भनेर फर्कियौं ।’ उनले भने । उनका अनुसार बिहीबार पुनः डिई कार्यालय जाने तयारी भएको छ ।